काठमाडौं- नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
शनिबार बुझाइएको पत्रमा मुलुक आर्थिक मन्दीबाट आक्रान्त भएको हुँदा समाजमा निराशा, कुण्ठा, अराजकता विस्तारित भएको स्मरण गराइएको छ।
‘जनतामा व्याप्त निराशा-हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवाञ्छित तत्वहरू हाम्रो समाजमा जातीय, धार्मिक-सांस्कृतिक द्वन्द्व मच्चाउन समेत लागिपरेका छन्। देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुन सक्छ। त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं’, पत्रमा भनिएको छ।
हाम्रो जस्ता लोकतन्त्रहरूको स्थायित्व र विकासका लागि सबैभन्दा प्रमुख कार्यभार पर्याप्त रोजगारीको सिर्जना र सुशासन भएको पत्रमा उल्लेख छ।
संविधानको निर्माणपछि मुलुकको समृद्धि र समाजवादको स्पष्ट योजनाका साथ अघि बढ्नुपर्ने भएता पनि विभिन्न कारणले त्यसो हुन नसकेको भनिएको छ।
‘हाम्रो पार्टीले आफ्नो सम्पूर्ण ध्यान उपरोक्त दुश्चक्र तोड्ने कार्यक्रमको रुपरेखा बनाएर अगाडि बढ्ने संकल्प गरेको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ।
यस्तो छ ध्यानाकर्षण पत्रः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।