काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन्। अमेरिका तथा चीन भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा त्यसबारे जानकारी गराएका हुन्।
'महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र मेरो निमन्त्रणा स्वीकार गरी उहाँ छिट्टै नेपाल भ्रमणमा आउनुहुने भएको छ', उनले भने।
चीन भ्रमणअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रचण्डले सेप्टेम्बर १७ मा गुटरेससँग भेटवार्ता गरेका थिए।
प्रचण्डको भनाइ छ, 'भेटको क्रममा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढीकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालले पुर्याएको योगदानको विषयमा छलफल भयो।'
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी भएका थिए। लगत्तै सेप्टेम्बर २३ देखि ३० सम्म चीन भ्रमणमा सहभागी भएका थिए। उनी अमेरिकाबाट सिधै चीन प्रस्थान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।