काठमाडौं- चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। शनिबार दिउँसो उनी छेन्दुबाट नेपाल प्रस्थान गरेका हुन्। उनलाई छेन्दुमा सिचुवान प्रान्तका सहायक गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग तथा चिनियाँ उच्चपदस्थ अधिकारीहरुले बिदाई गरेका हुन्।
प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए। संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर असोज ६ गते उनी न्युयोर्कबाट चीनको हाउचाउ पुगेका थिए।
पहिलो दिन १९औं एशियाली खेलकूदको उद्घाटन समारोहमा सहभागी भइ सोही दिन प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चीनपिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
चीनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, चिनियाँ समकक्षी लि छियाङ, चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ जियाओहुईलगायतसँग भेटवार्ता गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल सरकारका उच्च अधिकारीलगायतले स्वागत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।