हाङझाउ- ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रशंसा गरेका छन्।
१९औं एसियाली खेलकुदको उद्घाटन भएको ओलम्पिक स्पोर्ट्स् सेन्टरमा बिहीबार पुस्तकका लेखक नवीन अर्यालसँग भेटघाट गर्ने क्रममा उनले एसियाली खेलकुदको नालीबेली समेटिएको पुस्तक विश्व खेलकुदका लागि पनि ‘माइलस्टोन’ हुने बताए। उनले आफ्नो ठूलो बुवा यजविन्दर सिंह र बुवा भलिन्दर सिंहको योगदान पुस्तकमा समेटिएकोमा लेखकलाई विशेष धन्यवाद दिए।
‘यो पुस्तक नेपाली खेलकुदका लागि मात्र होइन, अन्तर्राष्ट्रिय खेलकुदका लागि पनि खुराक हुन सक्छ,’ लेखकसँगको भेटमा उनले भने।
सो क्रममा लेखक अर्यालले एसियाली खेलकुदको इतिहास समेटिएको पुस्तक तयार पार्न आफूलाई २ वर्ष लागेको बताएका थिए। खेल पत्रकार अर्यालको पुस्तक असार २८ गते काठमाडौंमा सार्वजनिक भएको थियो। यो नेपालको अनुसन्धानात्मक खेलकुदको पहिलो पुस्तक हो।
पुस्तकमा आफ्नो ठूलोबुवाको हस्ताक्षरसहित सन् १९५१ को पहिलो एसियाली खेलकुदको निम्तो देखेपछि सिंहले आयोजक चीनका पदाधिकारीलाई बोलाएर निम्तो देखाएका थिए। ‘यी हेर्नुस्, मेरो ठूलो बुवाले पहिलो एसियाली खेलमा पठाएको निम्तो,’ उनले पुस्तक देखाउँदै भने।
सो अवसरमा ओसीएका मानार्थ उपाध्यक्ष वेइ जिझोङ, ओसीएका उपाध्यक्षद्वय सङ लुजेङ र ले. जर्नेल सैयद आरिफ हसन तथा इरानका एनओसी महासचिव सेयद मनाफ हासिमीको पनि उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।