काठमाडौं- जासूसी उपन्यास लेखक दीर्घबाहुको नयाँ उपन्यास ‘बज्रजोगिनीको खजाना’ बजारमा आएको छ। दीर्घबाहु नेपालका दर्जनभन्दा बढी जासूसी उपन्यासका प्रथम र एक मात्र लेखक हुन्। रहस्य र रोमाञ्चले भरिपूर्ण ‘बज्रजोगिनीको खजाना’ पत्रकार तथा साहित्यकार श्रीधर खनालले ‘दीर्घबाहु’ उपनामबाट आजभन्दा ४० वर्षअघि लेखेका थिए। पहिलो पटक हाल प्रकाशन गरिएको हो।
'बज्रजोगिनीको खजाना मैले त्यतिबेलै लेखेको भए पनि विभिन्न कारणवश अप्रकाशित अवस्थामा बसिरहेको थियो,' उनले भने, 'प्रकाशकको आग्रहलाई नाइँ भन्न सकिनँ।'
२०२२ मा प्रकाशित ‘शब्दभेदी लडाइँ’पछि उनले लेखेका इन्सपेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’ नामक जासूसी उपन्यासहरु निकै लोकप्रिय थिए। त्यसबाहेक डाक्टर राम महर्जन सिरिजमा उनका ‘हङकङ्गको व्यापारी’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’ पनि प्रकाशित भएका थिए।
'अरुमा अपराध भइसकेपछि त्यसको अनुसन्धान र रहस्योद्घाटन हुन्थ्यो। बज्रजोगिनीको खजानामा अपराध हुन लागेको पहिले थाहा पाएर त्यसलाई रोक्नका लागि उपन्यासको नायकले गरेका रोमाञ्चक कारनामाहरु छन्,' लेखकले भने।
लेखकका पुराना र अप्राप्य सबै उपन्यास नयाँ साजसज्जा र कलेवरमा पुन:प्रकाशन गर्ने योजनामा रहेको प्रकाशक मणि शर्माले बताए।
'बज्रजोगीनिको खजाना'को मूल्य २९५ रुपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।