काठमाडौं- कथाकार माधव सयपत्रीको तेस्रो कथासंग्रह ‘बादशाहको अटोग्राफ’ बजारमा आएको छ।
जनताको थुनिएका आवाजका साथै मानवीय यौनकुण्ठालाई साहित्यका रुपमा व्यक्त गरिएको कथाकार सयपत्रीले बताए। सामाजिक पृष्ठभूमिका उनका विशेषतः सामाजिक मूल्य विघटनको सवाल र सशस्त्र समयमा राज्य र विद्रोही पक्षको दोहोरो चेपमा परेका नागरिको पीडालाई आफ्ना कथामा समेटिएको उनको भनाइ छ।
‘देशमा विद्यमान राजनैतिक विडम्वनाहरू, विकृत राजनैतिक संस्कार र हत्या–हिंसाको सशस्त्र द्वन्द्वका पीडालाई कथ्य बनाउने कथाकार माधव सयपत्रीमा युगीन चेतना पाइन्छ। उनी आफ्ना कथाहरूमा जीवनका विसङ्गतिका बारेमा कुरा गर्दछन्,' कथासङ्ग्रह बारे प्राडा दयाराम श्रेष्ठले टिप्पणी गरेका छन्, 'नारी वर्गमाथि हुने गरेका बर्बर व्यवहारका प्रसङ्गहरू निकाल्दछन्। गरिब वर्गमाथि भएका शोषणबारे खुलेरै भन्दछन् र मानवीय यौनाचारका कुरा पनि कथामा ल्याउँदछन्।'
३० वटा कथा समाविष्ट पुस्तक मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो।
यसअघि सयपत्रीका ‘सत्ताकवच’ र ‘मखमलीका राजाहरू’ दुई कथासङ्ग्रह आइसकेका छन्। उनको ‘सीमान्त विचलन’ उपन्यास पनि प्रकाशित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।