काठमाडौं– खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ सालको पद्मश्री पुरस्कार घोषणा गरेको छ। प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई प्रदान गरिने जनाएको छ।
कलाकार दुर्गा बराल (वात्स्यायन)लाई पद्मश्री साधना सम्मान र शिक्षाविद् सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
पद्मश्री पुरस्कारका लागि प्रतिष्ठानलाई प्राप्त १८० पुस्तकमध्ये छनोट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा १५ र दोस्रो चरण (सङ्क्षिप्त सूची) मा ५ पुस्तक सार्वजनिक गरिएको थियो।
अन्तिम ५ पुस्तकको सूचीमा मनु, इजोरिया, ऐंठन, शून्यको मूल्य र मफलर थिए। ती ५ पुस्तकमध्ये मनुलाई उत्कृष्ट मान्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
मनु एउटा सामाजिक–सांस्कृतिक उपन्यास हो जसमा ऋग्वैदिक समाजको परिवेश चित्रित गरिएको छ। उक्त पुस्तक काठमाडौँस्थित बुक हिल पब्लिकेशनले प्रकाशन गरेको हो।
प्रतिष्ठानले पद्मश्री साधना सम्मान दिने घोषणा गरेका कलाकार दुर्गा बराल (वात्स्यायन) लामो समयदेखि चित्रकला र कार्टुनको क्षेत्रमा सक्रिय छन्। यस्तै, पद्मश्री गौरव पुरस्कार प्रदान गरिने शिक्षाविद् प्रा सुरेशराज शर्मा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति हुन्।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ। तीन वटै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।