काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रविरुद्ध परेका उजुरी आज खोलिँदै छ। संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरु खोलेर समितिका सदस्यहरुलाई वितरण गरिने भएको हो। यसका लागि ११ बजे समितिको बैठक डाकिएको सचिव धुव्र घिमिरेले बताए।
मिश्रविरुद्ध चार वटा उजुरी दर्ता भएको छ। बुधवार अन्तिम समयसम्म उनलाई अनुमोदन गर्न नहुने दाबीसहित चार थान उजुरी दर्ता भएको थियो।
उजुरी अध्यननपछि उजुरीकर्तालाई बोलाउने तयारी समितिले गरेको छ। मिश्रमाथि परेका उजुरीहरुको गम्भीरता र आवश्यक प्रमाण झिकाउने कार्य हुने समितिका एक सदस्यले बताए।
मिश्रमाथि एनसेलको कर छुटदेखि हाँडीगाउँको जग्गासम्मको उजुरी परेको छ। यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्विकृत भएपछि परिषद्ले भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो।
संसदीय सुनुवाइको इतिहासमा पहिलो पटक अस्वीकार गरिएकाले अब मिश्रको सुनुवाइ पनि चुनौतीपूर्ण रुपमा हेरिएको छ।
संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो।
सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेका मध्ये पनि रोल क्रमका आधारले वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश छान्ने चलन यस पटक तोडिएको थियो। यसअघि सिफारिस गरिएका दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्विकृत भएपछि ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा योग्यता पुगेको भित्र परेका थिए। त्यसमध्ये पहिलो रोजाइमा मिश्रको सिफारिस भई सुनुवाइ हुँदै छ।
विशेष अदालतमा रहँदा भ्रष्टाचारको मुद्दामा कठोर मापदण्ड अवलम्बन गर्दै चर्चामा आएका मिश्र २०७१ जेठ १३ गते सर्वोच्चका स्थायी न्यायाधीश भएका थिए। मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा ५ महिनाको मात्रै हुनेछ। १८ पुसमा मिश्रले अवकाश पाएपछि अर्का न्यायाधीश चोलेन्द्र शमशेर राणाका लागि बाटो खुल्नेछ।
राणापछि वरीयताअनुसार हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान प्रधानन्यायाधीश बन्ने लाइनमा छन्। न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् मध्येका तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद्मा चैत १३ गते पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।