नयाँ दिल्ली– भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ।
अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिने आदेश दिएको हो।
झन्डै १ सय ५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ। पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो।
‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्सन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेका हुन्।
सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानूनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरावलोकन गरिरहेका थिए।
भारतका प्रधानन्यायाधीश दीपक मिश्रको अध्यक्षतामा बसेको पाँच सदस्यीय संवैधानिक इजलाशले गरेको निर्णयको धेरैतिरबाट स्वागत भएको छ। इजलासले पुरानो कानून सच्याउनसमेत सुझाव दिएको छ।
गोपनीयता र सामाजिक तथा नैतिक पक्षलाई पनि ध्यान दिनुपर्ने फैसलामा उल्लेख गरिएको समाचारमा जनाइएको छ।
भारतका समलिङ्गी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूले लामो समयदेखि पुरानो कानूनविरुद्ध सङ्घर्ष गरिरहेका थिए। रासस÷एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।