काठमाडौं- नेकपा (एमाले) र पार्टी नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको भन्दै रोक्न भनिएको छ।
नेकपा एमालेको प्रचार विभागले आम नागरिक र पार्टीपङ्तीभित्र अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको हो।
‘सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ,’ प्रचार विभाग सचिव गगन विष्टले सूचना जारी गर्दै भनेका छन्, ‘यसले पार्टीपंक्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ । तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ।’
पार्टीका नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउनसमेत अनुरोध गरिएको छ। अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने सूचना जारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।