काठमाडौं– जन्मकैदको सजाय पाएका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल जेलमुक्त भएका छन्। संविधान दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसरमा राष्ट्रपतिबाट ६७० कैदीले माफी मिनाहा पारेर जेलमुक्त भएका थिए।
कारागारमा बस्दा आचरण सुध्रिएका, ५० प्रतिशत कैद सजाय भोगेका, निश्चित उमेर कटेकाहरूको बाँकी कैद मिनाहा गर्न सरकारको सिफारिसमा राष्ट्रपतिले निर्णय गर्ने कानुनी व्यवस्था छ।
विशेष अवसरमा कैद मिनाहा गर्न सकिने यही प्रावधानअनुसार यस वर्ष संविधान दिवसको अवसरमा ६७० जना कैदीको बाँकी कैद मिनाहा भयो र कारागारमुक्त भए। असल नियतले राखिएको यही कानुनी व्यवस्था गम्भीर अपराधका दोषीका हकमा उपहार बन्ने गरेको छ। यसको पछिल्लो उदाहरण हुन् रिगल।
कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएको थियो।
नेपालगञ्जमा खुडा प्रहार गरी मानन्धरको हत्या भएको थियो। सुरुमै आफ्नै समूहमा रहेका मानन्धर अर्को समूहमा पुगेपछि उनले हत्या गर्न लगाएका थिए। २०७२ साल असार २८ गने खुँडा प्रहारी गरी हत्या भएको थियो। ७ भदौ २०७२ मा ढकालले अदालतमा आत्मसर्मपण गरेका थिए। उनी त्यसबेला तरुण दलका क्षेत्रीय सभापति थिए।
उनै रिगल सरकारको आशिर्वाद पाएर रिहा भएका छन्। जेलमुक्त हुँदा पनि विजयी भावका साथ रिहा भएका छन्। उनका साथी तथा आफन्तहरूले जेलबाट बाहिरिँदै गर्दा तरुण दलको झण्डा ओढाउनेदेखि खादा लगाएर सम्मान समेत गरेको भिडिओ, फोटोमा देखिन्छ।
यो पनि:
‘उत्सव’को बहानामा गम्भीर अपराधीलाई माफी
'दागी'प्रति कांग्रेस सधैं उदार!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।