काठमाडौं– नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झा नियुक्त भएका छन्। झालाई २ महिनाअघि सरकार आफैंले सोही पदबाट हटाउने निर्णय गरेको थियो। यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै सरकारले पुनः झालाई नै प्राधिकरण नेतृत्व दिने भएको हो।
वर्तमान सरकारले गत २० असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय अनुरुप झा पनि पदमुक्त भएका थिए।
सरकारको निर्णयविरुद्ध झाले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट समेत हालेका थिए। उक्त रिटमाथि सर्वोच्च अदालतले झाकै पक्षमा अन्तरिम आदेश नै जारी गरेको थियो। तर, पछि झा आफैंले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिएका थिए।
सरकारले पुनः नियुक्त गर्ने निश्चित भएपछि झाले उक्त रिट निवेदन फिर्ता लिएको बताइएको थियो। सोही अनुरुप नै हाल उनै झालाई सरकारले दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।
योसँगै झा तेस्रो पटक प्राधिकरणको अध्यक्ष बनेका छन्। यसअघि २०६९ र २०७४ सालमा उनी प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। झाले पहिलो कार्यकालको समयावधि नसकिँदै पदमुक्त भएपछि अदालतको अन्तरिम आदेश लिई पुरा समय काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।