काठमाडौं– भारत र क्यानडाबीच जारी तनावका बीच क्यानडास्थित भारतीय भिसा सेन्टरले आफ्नो सेवा स्थगित गरेको छ। ‘परिचालसम्बन्धी समस्या’का कारण भन्दै क्यानडास्थित भारतीय भिसा सेन्टरले २१ सेप्टेम्बर (बिहीबार)देखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको छ।
क्यानडामा १ जना सिख नेताको हत्याको विषयलाई लिएर पछिल्लो समय भारत र क्यानडाको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। क्यानडाले आफ्ना नागरिक समेत रहेका सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारीय सरकारका जासुसहरु संलग्न रहेको आरोप लगाएको छ।
पछिल्लो समय विकसित तनावपूर्ण स्थितिमा दुवै देश एक–अर्का देशका कूटनीतिक प्रतिनिधिलाई आ–आफ्नो देशबाट निकाला गर्ने तहसम्म पुगेका छन्।
शिख नेता हरदीप सिंह निज्जरको गत जुन महिनाको १८ तारिखमा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि गोली हानी हत्या भएको थियो। उनको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले २ देशबीचको तनावपूर्ण सम्बन्ध झनै बिग्रिने देखिएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को तल्लो सदन हाउस अफ कमन्समा एक बयान दिँदै निज्जरको हत्यामा भारत सरकारका जासुसहरु संलग्न रहेको विषयमा छानबिन भइरहेको बताए। ट्रुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले क्यानाडाली भूमिमा क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको ठोस आरोपको छानबिन गरिरहेका छन्। क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको भूमिका हाम्रो सार्वभौम सत्ताको उल्लंघन हो, जुन स्वीकार गर्न सकिँदैन।’
भारत सरकारले निज्जरलाई आतंकवादी भन्दै आएको थियो र उनलाई आतंकवादी पृथकतावादी संगठनको नेताको रूपमा वर्णन गर्ने गरेको छ। तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्।
अहिले कूटनीतिक तहमा देखिएको विवाद बढ्दै गएमा २ देशको सम्बन्धका अन्य धेरै पक्षमा असर पार्नसक्ने दुवै देशका विज्ञहरुको चिन्ता छ।
भारत र क्यानडाले आ–आफ्नो देशका नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सतर्कता अपनाउन समेत आग्रह गरेका छन्। क्यानडाले भारतमा आतंकवादी गतिविधहरु रहेको भने भारत यत्रा गर्ने आफ्नो नागरिकलाई सचेत गराएको छ। यस्तै, भारतले पनि क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र घृणा अपराधलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिकहरू र यात्रा गर्ने विचार गर्नेहरूलाई अत्यन्त सावधानी अपनाउन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।