काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने चीन भ्रमणको औपचारिक घोषणा भएको छ। परराष्ट्र मन्त्रालयले असोज ६ गतेदेखि १३ गतेसम्म प्रचण्डले चीनको औपचारिक भ्रमण गर्ने जनाएको छ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन हाल अमेरिकामा रहेका प्रचण्ड त्यतैबाट चीन जानेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ६ गते होङझाउमा हुने एसियाली गेम्सको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीले होङझाउमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीले बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा उर्जा, जलस्रोत, राजमार्ग, विमानस्थल र नाका संचालनबारे छलफल हुने बताइएको छ। त्यसक्रममा यसअघि निर्माण सम्पन्न भएका आयोजनाहरुको पनि हस्तान्तरण गरिने जनाइएको छ।
चीनस्थित नेपाली दूतावास, नेपाल उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी)ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।
चीन भ्रमणका क्रममा प्रचण्डको टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायत सहभागी हुने जनाएको छ।
प्रधानमन्त्रीको भ्रमण दलमा सरकारका उच्च अधिकारीसँगै व्यापारिक क्षेत्रबाट पनि सहभागिता रहने छ।
प्रधानमन्त्री प्रचण्डले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको गर्ने कार्यतालिका समेत छ। प्रधानमन्त्रीले नेपालसँग सीमा जोडिएको ल्हासाको पनि भ्रमण गर्ने कार्यतालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।