काठमाडौं- म्यानपावर कम्पनी सञ्चालनका लागि ६ करोड धरौटी राख्ने प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिबाट पारित भएको छ। म्यानपावर कम्पनीले अब व्यवसाय चलाउन २ करोड नगद र ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने भएको छ।
अहिले वैदेशिक रोजगार ऐन २०६४ संशोधनका क्रममा छ। उक्त संशोधित ऐनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले म्यानपावरको धरौटी रकम ६ करोड पुर्याउने प्रस्ताव सहितको मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिमा लागेको थियो। समितिले उक्त निर्णय केही दिन अगाडी नै पास गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरेको छ।
म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि अहिले ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी देखाउनुपर्ने व्यवस्था छ। म्यानपावरका लागि बैंकहरूले ग्यारेन्टी सहजै दिने भएकाले म्यानपावर खुल्ने क्रम बढेको छ।
श्रम, रोजगार तथा सामासिक सुरक्षामन्त्री गोर्कण विष्टले म्यानपावर व्यवसाय शुद्धीकरण गर्ने धरौटी बढाउने योजना अघि सारेका हुन्। धरौटी रकम बढाउँदा म्यानपावर कम्पनी मर्जरमा जाने र अनुगमन गर्न पनि सजिलो हुने श्रम मन्त्रालयको बुझाई छ। रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा कम हुने र मर्यादित रूपमा व्यवसाय सञ्चालन हुने मन्त्रालयको विश्वास छ।
‘नाङ्लो पसल’ थापेजस्तो म्यानपावर व्यवसाय चलाउने प्रवृत्ति बन्द गर्न सरकारले धरौटी रकम बढाउने नीति लिएको हो। धरौटी कम हुँदा म्यानपावर दर्ता गरी ठगी गर्दै लाइसेन्स बेच्ने क्रम बढ्दो छ। धरौटी रकम कम भएकाले ठूला प्रकृतिका ठगी गर्ने म्यानपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन नसकिने अवस्था छ।
मन्त्रिपरिषद् विधेयक समितिबाट पारित उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस हुनेछ। मन्त्रिपरिषद्ले उक्त प्रस्ताव पारित गरेपछि यसले औपचारिक रूपमा नै मूर्तरुप पाउने र कार्यान्वयको चरणमा जानेछ। तर कानुन मन्त्रालयमा समेत छलफलका लागि पठाईने भएकाले धरौटी रकममा हेरफेर हुन सक्ने संभावना पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।