काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुलेश्वरको एक गोदाममा सिल गरेको छ। पाँचवटा कोठामा शंकास्पद चिनी र दाल भण्डारण गरिएको पाइएपछि उक्त गोदाममा सिल गरिएको विभागले जनाएको छ।
मंगलबार उक्त गोदामबाट हिरा ब्राण्डको २ बोरा र लुम्बिनी ब्राण्डको मसिनो चिनी २ बोरा नमुना परीक्षणका लागि नियन्त्रणमा पनि लिइएको छ। सञ्चालकलाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिइएको विभागले जनाएको छ।
विभागको टोलीले अनुगमन गर्ने क्रममा कुलेश्वर क्षेत्रको एक व्यापारिक फर्मले बिक्रीका लागि राखेको चिनी तथा दलहनमध्ये केही बोरामा कैफियत भेटिएको थियो।
यस्तै मूल्य सूची र दर्ता प्रमाणपत्र नराख्ने सामाखुसीको एक फेन्सी पसललाई विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
यसैगरी चाबहिलस्थित ३ वटा खाद्य पसललाई १०/१० हजारका दरले ३० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ।
विभागले काठमाडौं उपत्यका भित्रका क्षेत्रहरूमा दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधीजन्य तथा तरकारीजन्य ३० वटा व्यावसायिक फर्मको अनुगमन गरेको थियो। जसमध्ये ४ वटा फर्मलाई विभिन्न कसुरमा ८० हजार जरिवाना गरिएको छ। १० वटा फर्मसंग थप कागजात माग तथा १६ फर्मलाइ सामान्य निर्देशन दिइएका विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।