काठमाडौं– सरकारले मुक्त हलियाहरुको पुनर्स्थापना सम्बन्धी सबै समस्या यसै आर्थिक वर्ष २०७५/०७६ भित्र समाधान गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसै आर्थिक वर्षभित्र मुक्त हलिया पुनर्स्थापना र यस सम्बन्धी सबै समस्या समाधान गर्ने निर्णय गरेको हो।
बैठकले मुक्त हलिया पुनर्स्थापना समस्या समाधान समिति र मुक्त कमैया पुनर्स्थापना आयोगलाई कायमै राख्ने पनि निर्णय गरेको युवा तथा खलकुद मन्त्री जगत विश्वकर्माले बताए।
विश्वकर्माका अनुसार सरकारले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ। बैठकले शुक्रबार निजामती दिवसको अवसर पारेर पुरस्कृत गरिने उत्कृष्ट कर्मचारीहरुको नामलाई पनि टुंगो लगाएको छ।
यस्तैगरी, जर्मन सरकारबाट प्राप्त करिब ४ अर्ब ९ करोड अनुदान सहायता लिने प्रस्ताव पनि स्वीकृत गरेको छ। पोखरा–लेखनाथ २ सय २० केभी विद्युत प्रशारण लाइन निर्माणका लागि सो अनुदान रकम खर्च गर्ने निर्णय गरिएको मन्त्री विश्वकर्माले जानकारी दिए। त्यस्तै भूकम्पपीडितहरुका लागि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धि एकीकृत कार्यविधि, २०७५ पनि स्विकृत गरिएको छ।
मन्त्रिपरिषद् बैठकले धनुषा जिल्लाको शहिदनगर नगरपालिका–८, डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ। सो अस्पतालको नाम सहिद सूर्यनाथराम यादव स्मृति अस्पताल राखिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।