धनगढी– धनगढी उपमहानगरपालिकाले जथाभावी नदीजन्य पदार्थ उत्खनन् गराएको भन्दै वडा नम्बर १७ का स्थानीयहरू आन्दोलित बनेका छन्। जथाभावी नदीजन्य पदार्थ उत्खनन् गरिँदा बस्तीमा क्षति पुग्दै आएको भन्दै मंगलबारदेखि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
धनगढी वडा नम्बर ८ र १७ जोड्ने पुलमा टायर बालेर उनीहरूले आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।
नदीजन्य पदार्थ मापदण्ड अनुसार मात्र उत्खनन् गरिनुपर्ने, क्षतिग्रस्त ठाउँलाई ‘जोखिम क्षेत्र’ तोकिनुपर्ने, केही ठाउँमा नदीको धार परिवर्तन गरिनुपर्ने, कुल आम्दानीको २० प्रतिशत रकम खोला वा वडाको विकासमा लगानी गर्नुपर्ने, क्षति हुने ठाउँमा उचित तटबन्धनको व्यवस्था गर्नुपर्ने लगायतका माग उपमहानगरपालिकासँग उनीहरूले राखेका छन्।
खुटिया खोला जथाभावी उत्खनन् गर्दा बस्ती, खेत, वनलगायतका क्षेत्रमा जोखिममा परेको स्थानीयको गुनासो छ।
स्थानीय हर्षराज रानाले २०७४ सालदेखि नदीमा नदीजन्य पदार्थ उत्खनन् भइरहे पनि वडाले बिग्रिएका सडकमा ग्राभेल हाल्ने, कटानबाट जोगाउन तटबन्धन लगायतका कुनै पनि कार्य नबढाएको बताए। उनले भने, ‘धनगढीले सबैभन्दा बढी नदीजन्य पदार्थ यहि खोलाबाट संकलन गर्छ। त्यसको २० प्रतिशत पनि वडामा लगानी भएन।’ उनले उपनगरपालिकाले आफूहरूलाई झूटा आश्वासन बाहेक केही नदिएको बताए।
वडाअध्यक्ष माधव रानाले खुटिया खोलामा जथाभावी नदीजन्य पदार्थ उत्खनन् हुँदा खेतीयोग्य जमिन कटान हुनुका साथै बनेका भौतिक संरचनमा क्षति पुगिरहेको बताए। वडाको बजेट न्यून हुँदा बस्ती संरक्षणका लागि तटबन्धन कार्यक्रम अघि बढाउन नसकिने उनको भनाइ थियो। उनले भने, ‘वडामा थोरै बजेट छ। उपमहानगरपालिकामा अनुरोध गर्दा पनि काम भएन। प्रदेश र संघ सरकारसँग पनि यसबारे कुरा राखेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।