काठमाडौं- थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मुलका महिलाहरुले हरितालिका तीज भव्य रुपमा मनाएका छन्। थाई नेपाली संघ बैंकक महिला शाखाले तीज कार्यक्रमको आयोजना गरेको थियो।

बर्मा र थाइल्याण्डमा वर्षौंदेखि बसेका नेपाली मुलका महिलाहरुले हरेक वर्ष तीज मनाउने गर्छन्। यो वर्ष पनि महिला शाखाले विभिन्न कार्यक्रम गर्दै तीज मनाएको विभागकी प्रमुख संगिता कार्कीले बताइन्। नेपालमा नबसे पनि आफूहरु नेपाली भएकाले त्यहाँको संस्कृति र परम्परा मान्दै आएको उनले बताइन्।

तीजको कार्यक्रमका लागि गायिका प्रश्ना शाक्य बैंकक पुगेकी थिइन्। त्यस्तै मेरो डान्स युनिभर्सकी विजेता खुसी कार्की लगायतले पनि आफ्नो प्रस्तुति दिएका थिए।

थाई नेपाली संघकी अध्यक्ष वासना राईले जहाँ, जुन देशमा भए पनि आफूहरु नेपाली भएकाले नेपालको संस्कृति र चार्डपर्वलाई माया गरेर मनाउने बताइन्। नेपाली मुलका महिलाहरुले थाई र बर्मामा पनि नेपालकै जसरी निराहार व्रत बसेर तीज मनाउने उनले बताइन्।

नेपाली मुलको गोर्खाली भनेर यहाँ चिन्ने र आफूहरुको संस्कृति भएकाले चाडपर्व मनाउने उनको भनाइ छ। थाई नेपाली संघका संरक्षक कुमार कार्कीले तीज मात्र नभई नेपालमा मनाइने हरेक चार्डपर्व मनाउँदै आएको बताए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।