काठमाडौं– संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्कमा भेला भइरहेका राष्ट्रप्रमुखहरूलाई सम्बोधन गर्दै सडक सुरक्षाका लागी गैरसरकारी संस्थाहरूको विश्व संजाल (ग्लोबल एलायन्स अफ रोड सेफ्टी एनजिओज) ले एक खुला पत्र पठाएको छ।
उक्त पत्रमा राष्ट्रसंघ सदस्य राष्ट्रहरुका नेतृत्वलाई सडक दुर्घटना न्यूनीकरणलाई महासभामा उच्च प्राथमिकताका साथ उठाउन अनुरोध गरेको छ। साथै, यसअघि सन् २०२२ जुन/जुलाइमा संयुक्त राष्ट्रसंघको सडक सुरक्षा विषयमा पहिलो उच्चस्तरीय बैठकले अनुमोदन गरेका राजनैतिक घोषणापत्रमा उल्लेख भएको #RethinkMobility वा समग्र यातायात प्रणालीमा पुनर्विचार गर्ने प्रतिबद्धताको उपेक्षा भएको प्रति दुःख व्यक्त गरेको छ ।
पत्रमा यदि सदस्य राष्ट्रहरूले उनीहरुको मुलुकमा सवारी आवागमन र यातायात प्रणालीबारे पुनर्विचार गर्नेहो भने एसडीजी ३.६ र एसडीजी ११.२ लगायत अन्य धेरै दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुग्ने कुरा दोहोर्याइएको छ।
तत्काल विश्वका सडकहरूमा भइरहेको मृत्यु र अपांगताको श्रृंखलालाई स्वीकार गर्नै नसकिने भन्दै ५ देखि २९ वर्षका जनसंख्याको मृत्यु र अपांगताको यस प्रमुख कारणबाट परिवार, समाज र राष्ट्रमा आइपर्ने विपत्तिका लागी सम्वेदनशील हुन पनि आह्वान गरिएको छ।
सडक दुर्घटना र तिनका परिणामलाई कसरी कम गर्ने भन्ने कुरा तथ्य-प्रमाणले बताइसकेको र विश्व स्वास्थ्य संगठन लगायत विश्वव्यापी सडक सुरक्षासम्बन्धी निकायले विभिन्न कार्य योजना, लक्ष्य र मार्गनिर्देशक दस्तावेज र सूचनाहरू प्रवाह गरी आर्थिक र प्राविधिक सहायता प्रवर्द्धन गरेको भए पनि राजनीतिक प्रतिबद्धताको कमीले तिनको सदुपयोग हुन नसकेकोमा पनि उक्त पत्रमा चिन्ता व्यक्त गरिएको छ।
बस्तीहरू भएर जाने सडकहरूमा सवारी साधानको गति नियन्त्रण गर्ने, बालबालिका र पैदलयात्रीको चाप बढी हुने सडकहरूमा ३० किलिमिटर प्रतिघण्टा गति सीमित गर्ने, फुटपाथको अवस्थामा सुधार जस्ता सडक दुर्घटना न्यूनीकरणका लागी गरिएका प्रयासले शहरी विकास, दिगो विकास, वायुको गुणस्तरमा सुधार र ध्वनि प्रदुषणमा कमी आउने र यसबाट मानिसको जीवनशैलीमा बृहत्तर र गुणात्मक सुधार हुने तथा अस्वस्थ्यकर जीवनशैलीका कारण हुने नसर्ने रोगहरू कम गर्न मद्दत पुग्ने पनि खुला पत्रमा उल्लेख छ।
उक्त पत्रमा नेतृत्वले प्रतिबद्धता सुनिश्चत गर्न आर्थिक स्रोत व्यवस्थापन वा बजेट विनियोजन गरेर सडक सुरक्षाका लागि पूर्ण उत्तरदायी निकायलाइ निर्देशन गर्न अनुरोध गरिएको छ।
संयुक्त राष्ट्रसंघको महासभा
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नियमित प्लेनरी बैठकहरूका अतिरिक्त उच्चस्तरीय बैठकहरूको पनि योजना छ। सेप्टेम्बर १८ र १९ (असोज १ र २ ) मा दिगो विकास लक्ष्यसम्बन्धी उच्चस्तरीय राजनीतिक मंचको बैठक भैरहेको छ भने सेप्टेम्बर २१ (असोज ४ गते) स्वास्थ्यमा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज) विषयमा उच्चस्तरीय बैठक हुनेछ। यी दुबै विषयहरू क्रमशः सडक दुर्घटना रोकथाम र दुर्घटना-पश्चात घाइतेको स्वास्थ्य उपचारसँग प्रत्यक्ष सम्बन्धित छन्। दिगो विकास लक्ष्यको सूचक ३.६ ले सदस्य राष्ट्रहरुलाई सन् २०३० सम्ममा सडक दुर्घटनामा मृत्यु र गंभीर घाइते हुनेको संख्यालाई आधा घटाउने लक्ष्य दिएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो अनुमानअनुसार सन् २०१९ मा नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या झन्डै ४,००० देखि ५,३६७ को बीचमा रहेको जनाएको छ।
त्यसैगरी दिगो विकास लक्ष्यको सूचक ११.२ ले सन् २०३० सम्म जोखिममा रहेका सडक प्रयोगकर्ताहरू, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र वृद्ध व्यक्तिहरूको आवश्यकतालाई विशेष ध्यान दिएर, सबैका लागि सुरक्षित, किफायती, पहुँचयोग्य र दिगो यातायात प्रणालीमा पहुँच प्रदान गर्ने, सडक सुरक्षामा सुधार गर्दै विशेष गरी सार्वजनिक यातायातको विस्तार गर्नुपर्ने अर्को लक्ष्य पनि दिएको छ। यसै लक्ष्यले पैदलयात्रीका लागी सुरक्षित फुटपाथहरू, साइकलयात्रीहरूको सुरक्षा र मोटरसाइकल चालक र यात्रीको सुरक्षासँग पनि सम्बन्ध राख्दछ।
सडक दुर्घटनापश्चातको उद्धार र प्राथमिक उपचार एवम् घाइतेलाई सुरक्षित अस्पताल पुर्याउने कार्यको सुनिश्चितताका लागि स्वास्थ्य क्षेत्रको अग्रसरतामा केयर सेवाको विस्तार गरी घाइतेको जीवनरक्षाका लागि उपचारात्मक कार्यक्रमको विस्तार गर्न युनिभर्सल हेल्थ कभरेजले म्यान्डेट दिएको छ।
यस पटकको महासभामा सडक सुरक्षाका लागि महत्त्वपूर्ण ३ वटा विषयमा छलफल हुने भएको छ। तर विगतको अनुभवअनुसार संयुक्त राष्ट्रसंघमा यी विषयमा नेपालको तर्फबाट फितलो प्रस्तुति रहने गरेको छ। विश्वका कतिपय अन्य देशहरूले पनि सडक सुरक्षालाई महत्त्व नदिएकाले सडक सुरक्षाका लागि कार्यको पहिलो दशक (२०११-२०२०) मा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या घटाउन संयुक्त राष्ट्रसंघले राखेको लक्ष्य प्राप्त हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।