काठमाडौं– रोजगारीका लागि कतार जाने विदेशी कामदारले कामका विषयमा रोजगारदाता कम्पनीसँग सोझै सम्झौता गर्न पाउने भएका छन्।
मंगलबार कतारका कानुन मन्त्री अमिर शेख तमिम विन हमाद अलथानीले ‘एक्जिट पेपर’सम्बन्धी कानुनलाई प्रमाणित गरेसँगै अब आप्रवासी कामदारले कामका लागि रोजगारदाता कम्पनीसँग सिधै रोजगार अनुमति लिन पाउने भएका हुन्। नयाँ नियमानुसार अबदेखि रोजगारदाता र कामदारबीच प्रत्यक्ष सम्झौता हुनेछ।
कतारले विदेशी नीति सम्बन्धमा सन् २०१७ जनवरी १ गतेदेखि ल्याएको ‘काफला प्रणाली’लाई सुधार गर्दै नयाँ नियम लागू गरेको थियो। सो प्रणालीमा कम्पनीको अधिकारमा रहेको ‘एक्जिट परमिट’ कतार सरकारले पनि दिन सक्ने व्यवस्था थियो।
कामको प्रकृति हेरी झन्डै ५ प्रतिशत कामदारका लागि भने कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ चाहिने व्यवस्था गरिएको छ। तर त्यसका लागि रोजगारदाताले श्रम मन्त्रालयलाई नामसहित उचित कारण पेस गर्नुपर्नेछ।
यसअघि कतार पुगेका कतिपय विदेशीलगायत नेपाली कामदारले श्रमिक आपूर्ति गर्ने कम्पनीमा परेर दुःख पाउने गरेका थिए। कतार सरकारले लागू गरेको नयाँ नियमले यो समस्यालाई समाधान गर्ने विश्वास लिइएको छ।
नेपाल सरकारले पनि कतार जाँदा म्यानपावर धाउन नपर्नेगरी ‘रोजगारी भिलेज’को व्यवस्था गर्ने योजना अघि सारेको छ। उक्त व्यवस्था लागू भए रोजगारदाता स्वयम्ले नेपाल आएर कामदार लैजानसक्ने छन्।
कतारको प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयकाअनुसार धेरैजसो भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स र बंगलादेशी कामदार रोजगारीका लागि कतार जाने गरेका छन्।
सन् २०२२ को विश्वकपमा लागि तयार भइरहेका रंगशाला निर्माणको क्षेत्रमा अधिकांश कामदार काम गरिरहेका मन्त्रालयले जनाएको छ। कतारमा करिब ५ लाख नेपाली कामदार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।