कञ्चनपुर– भदौ ७ गते निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी नायव उपरीक्षकसम्म हेरफेर गरियो। टोली ८ गते कञ्चनपुर पुगेर ९ गतेदेखि नै अनुसन्धान शुरु गरेको थियो। टोलीले अनुसन्धान जारी राखे पनि निर्मलाको हत्यामा संलग्न वास्तविक दोषी भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
निर्मलाका आफन्त अनुसन्धान टोलीको अनुसन्धान शैलीप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्।
‘टोली अनुसन्धान भइरहेको छ भन्छ तर, अनुसन्धान शैलीप्रति हामी सन्तुष्ट छैनौं,' निर्मलाका बुबा यज्ञराज पन्तले भने, ‘घटनामा आशंका गरिएका व्यक्तिहरुमाथि सोधपुछ गर्नुभन्दा हामीमाथि नै टोलीले बढी सोधपुछ गरिरहेको छ।’ उनले अनुसन्धान टोलीले धम्की आएको घरका सदस्यसँग खासै सोधपुछ नगरेको गुनासो गरे। ‘प्रहरीले घटनास्थल र साइकल बरामद भएको आसपासका क्षेत्रमा पुगेर प्रमाण जुटाउने प्रयास नै गरेको छैन।’
‘टोलीले प्रमाण संकलन भन्दा पनि सोधपुछ केन्द्रित अनुसन्धान गरेको छ,’ बुबा यज्ञराजले भने, ‘प्रहरीले घटनास्थल र साइकल बरामद भएको आसपासका क्षेत्रमा पुगेर प्रमाण जुटाउने प्रयास नै गरेको छैन।’ सरकारद्वारा हरिप्रसाद मैनालीको नेतृत्वमा खटाइएको विशेष समितिको १५ दिन पुग्नै लागेको र अनुसन्धान टोलीले गरिरहेको अनुसन्धानबारे पनि अनविज्ञ रहेको उनले बताए।
कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले निर्मला पन्तको हत्याबारे प्रहरीले अनुसन्धान जारी राखेको बताए । ‘हामीले घटनामा संलग्न धेरै व्यक्तिमाथि शंका गरेका छौं,’ उनले भने, ‘तर, प्रमाण नहुँदा समस्या भएको छ ।’ उनले पन्तको हत्याकाण्डमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्ली बिष्टका छोराको संलग्नता रहेको सामाजिक सञ्जालमा आए पनि उनीमाथि कुनै शंका नभएको दाबी गरे ।

पढाइको शिलशिलामा काठमाडौंमा रहेका एसपी बिष्टका छोरा केही दिनदेखि काम विशेषले महेन्द्रनगर आएको जानकारी आए पनि उनको संलग्नताको कुनै प्रमाण नभेटिएकाले पक्राउ गर्न नमिल्ने प्रहरी उपरीक्षक कडायतले बताए । त्यस्तै मेयर सुरेन्द्र बिष्टका भतिजामाथि पनि कुनै शंका गर्ने ठाउँ नभएकाले उनीहरुमाथि अनुसन्धान नगरिएको उनले बताए ।
प्रहरी प्रमुख कडायतका अनुसार निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अभियुक्त रहेकी रोशनी र बबिता बमले आफ्नो कुनै संलग्ना नरहेको प्रहरीसमक्ष बताउँदै आएका छन् । पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि दुई दिदीबहिनी प्रहरी थुनामा छन्। निर्मलाका साथी समेत रहेका उनीहरुले बलात्कार र हत्या आरोप प्रहरी र सरकारी वकिल कार्यालयमा अस्वीकार गरेका छन्।
‘निर्मला बिहान ११ बजेतिर हाम्रो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केकी हुन्’, रोशनीले सरकारी वकिल कार्यालयमा बयान दिएकी छिन् । उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको बयानका क्रममा भनेकी छिन्।
निर्मलाको हत्या अनुसन्धानमा सघाउन फेरि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा चार सदस्यीय टोली कञ्चनपुर पठाएको छ । टोलीले निर्मलाका आफन्तसँग भेटघाट गरी घटनाबारे जानकारी लिएको छ।
यसअघि सिआइबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा एक टोली कञ्चनपुर पठाएको थियो । तर जिसी नेतृत्वको टोलीले गरेको अनुुसन्धानमा नागरिक विश्वस्त हुन नसक्दा आन्दोलन चर्किएको थियो । कञ्चनपुर प्रहरी र जिसीको टोलीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका– १९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो।

दिलिपलाई मुख्य अभियुक्त बनाइएपछि प्रहरी अनुसन्धान विश्वस्त हुन नसकेको भन्दै कञ्चनपुरमा प्रदर्शन चर्किएको थियो । डिएसपीको अनुसन्धान विवादमा तानिएपछि सिआइबीले एसएसपीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको हो।
अनुसन्धानकै लागि प्रहरी थुनामा रहेका दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य जाँच भइरहेको छ । प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्यलगायत परीक्षण गर्न काठमाडौ लगेको हो । ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।गत साउन १० गते साथीको घरमा जान भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भइसकेको छ।
विशेष टोलीले प्रतिवेदन बुझाउने
नेपाल सरकारबाट हरिप्रसाद मैनालीको नेतृत्वमा गठित विशेष समितिले अहिले घटनाबारे छानविन भइरहेको जनाएको छ । टोली प्रमुख मैनालीले भने, ‘हामी छानविन गरिरहेका छौं । सरोकारवाला पक्ष सबैसम्म भेटघाट तथा सोधपुछ गरिसकेका छौं ।’ उनले टोलीलाई सरकारले १५ दिनभित्र प्रतिवेदन तयार पारेर पेश गर्न निर्देशन दिएको बताए । ‘अझै दुई दिन बाँकी छ । हामी विवरण संकलन गरिरहेका छौं । प्रतिवेदनमा निस्पक्ष र यर्थाथ समेटिने छन्’, उनले भने । प्रतिवेदन तयार गरेर गृह मन्त्रालयलाई बुझाउने र मन्त्रालयले नै सार्वजनिक गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।