विराटनगर- आज १२औं राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाइँदैछ।
'संघीयताको महत्त्वपूर्ण सार, मानव बेचबिखन अन्त्यका लागि जिम्मेबार र सहकार्य सहित गरौं खबरदार' भन्ने नाराका साथ यो दिवस मनाइरहँदा प्रदेश १ मा भने मानिसहरु हराउने क्रम निकै निराशाजनक छ।
प्रदेश १ का १४ जिल्लाबाट एक वर्षमा १ हजार ९ सय ८८ जना हराएका छन्।
आर्थिक वर्ष २०७४/७५ मा हराएकामध्ये १ हजार ५ सय ३५ जना महिला र ४ सय ५३ जना पुरुष छन्। तीमध्ये २ सय ३६ जना मात्र फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकले देखाएको छ। बाँकी १७ सय ५२ जना कहाँ छन् अत्तोपत्तो छैन।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश १ मा आर्थिक वर्ष ०७२/७३ को तुलनामा ०७३/७४ र ०७४/७५ मा बेपत्ताको संख्या ह्वात्तै बढेको छ।
आर्थिक वर्ष ०७२/७३ मा १ हजार १ सय ५३ जना हराएका थिए। ०७३/७४ मा यो संख्या बढेर २ हजार ३९ जना पुग्यो।
हराउनेहरु पुरुषभन्दा महिला धेरै छन्। आर्थिक वर्ष ०७२/७३ मा ९५ जना पुरुष हराउँदा १ हजार ५८ जना महिला हराएका थिए। आर्थिक वर्ष ०७३/७४ मा पुरुष ४ सय ६० जना हराएका थिए। सो वर्ष १ हजार ५ सय ७९ जना महिला बेपत्ता भए।
प्रहरीको तथ्यांकले हराउने र भेटिनेबीचको संख्या फराकिलो देखिन्छ। घेरैजसो हराएका महिला भारतको यौनबजारमा पुग्ने गरेको अधिकारीहरु बताउँछन्।
चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा प्रदेश १ बाट २ सय ९५ जना हराएका छन्। तीमध्ये २ सय २६ जना महिला र ६९ जना पुरुष छन्।
कमै मात्र भेटिन्छन्
प्रहरीको तथ्यांकमा भेटिनेको संख्या भने अत्यन्तै न्यून छ। आर्थिक वर्ष ०७२/७३मा हराएकामध्ये १ सय ६६ भेटिएका थिए। ०७३/७४ मा २ सय ७५ जना भेटिए। त्यसैगरी चालु आर्थिक वर्षको डेढ महिनामा ३८ जना मानिस मात्र फेला परेका छन्।
प्रदेश १ मा मोरङ र झापा जिल्लाबाट बढी मान्छे हराएको सूचना प्रहरीमा आउने गरेको छ। मोरङमा आर्थिक वर्ष ०७४/०७५ मा ६ सय ३४ जना हराएका छन्। त्योभन्दा अघिल्लो वर्ष ५ सय ८३ जना हराएका थिए। गत साउन देखि भदौ १५ सम्म सो जिल्लाबाट ४७ जना हराएका छन्।
झापामा गत आर्थिक वर्ष ५ सय ३ जना हराएका थिए। गत डेढ महिनामै ८३ जना हराएको प्रहरीमा सूचना आएको छ। यो तथ्यांक प्रहरीमा आएको उजुरी मात्र हो।
प्रहरीको तथ्यांकले हराउने र भेटिने बीचको संख्या फराकिलो देखिन्छ। घेरैजसो हराएका महिला भारतको यौनबजारमा पुग्ने गरेको माइती नेपाल क्षेत्रीय कार्यालय काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेको भनाइ छ।
त्यस्तै, भारतीय सर्कस र घरेलु कामदारका रुपमा पनि उल्लेख्य मात्रामा हराएका महिला पुग्ने गरेका छन्। घरेलु कामदारका रुपमा बेच्ने र घरबाट बाहिर निस्कन नदिई बन्धक बनाएर राख्ने गरेको पाइएको प्रमुख घिमिरेले बताए।
हराएका बेला परिवारले चासोका साथ रिपोर्ट गर्ने भए पनि भेटिएपछि जानकारी नगराउने कारण हराएकाहरुको संख्या धेरै देखिने गरेको प्रहरीको भनाइ छ।
घिमिरेका अनुसार नेपाली महिलालाई बंगलादेशसम्म पनि पुर्याएर दलालले बेच्ने गरेका छन्।
माइती नेपालले बंगलादेशबाट पनि केही महिलाको उद्धार गरेको छ। २०१७ जनवरीयता माइती नेपालको अगुवाइमा काँकडभिट्टा नाकाबाट मात्र ३ सय १३ जनालाई उद्धार गरिएको छ भने २८ जनालाई तेस्रो मुलुकबाट समेत उद्धार गरिएको छ।
प्रहरीले भने हराएका बेला परिवारले चासोका साथ रिपोर्ट गर्ने भेटिए पनि पछि भने जानकारी नगराउने कारणले पनि हराएकाहरुको संख्या धेरै देखिने गरेको जनाएको छ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मोहनदेव जोशी कतिपय व्यक्तिहरु परिवारका सदस्यहरुलाई पनि जानकारी नदिई रोजगारीका लागि भारत जाने गरेको पाइएको बताउँछन्।
'हराएको बेला जानकारी गराउने तर भेटिएको जानकारी नगराउने प्रवृत्ति देखिन्छ,' उनले भने।
सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको ११औं शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि पारित गरेको थियो। ०६३ भदौ २० मा तत्कालीन संसदले त्यसलाई पारित गरेपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।