काठमाडौं- आउँदो महाशिवरात्रीमा प्रदर्शनकाे लक्ष्यसहित नेपाली चलचित्र ‘रङ्गेली’को छायांकन मङ्गलबारदेखि सुरू भएको छ। सुनसरीको इटहरीमा चलचित्रको पहिलो शट लिइएको छ। पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन्। रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा चलचित्रको छायांकन हुने निर्देशक अर्जुन सुवेदीले बताए।
सोमबार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्कृप्ट तथा क्यामरा पूजा गर्दै शुभ मुहूर्त भएको थियो। मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएनन्। छायांकनको समयमा उपस्थित नभएता पनि चलचित्र छायांकनको तालिका अनुसार क्रमशः कलाकारहरू पुग्ने गरी मिलाइएको निर्माता जीतेन्द्र खतिवडाले बताए। सबै प्रमुख कलाकारहरू अत्यन्त व्यस्त रहने भएको बताउँदै उनले भने, 'दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भइरहनुभएको छ। मिरुनाजी पनि अर्को चलचित्रको प्रचारमा समय दिइरहनु भएको छ। हामी सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौँ। त्यसरी नै सबैले आफ्नो समय व्यवस्थापन गर्नुहुन्छ।'
अभिनेता प्रवीण खतिवडाको छायांकन सुरु भएको छ। प्रमुख कलाकारमध्ये अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकी बुधबार छायांकन स्थल पुग्नेछन् भने अर्को हप्ता दयाहाङ राई पुग्नेछन्।
चलचित्रका लागि सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायांकन हुनेछ। नेपाली चलचित्रले पहिलोपटक यसप्रकारले गीत छायांकन गर्न लागेको हो। सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ। चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ।
फागुन २५ गते रिलिज हुने यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहनेछ। चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्। कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा रहेका छन्। यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सहनिर्माता हुन्। चलचित्रलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।