काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभर ५ दर्जनका हाराहारीमा विमानस्थल निमार्ण भइसकेको छ। कतिपय विमानस्थल भने निर्माणको चरणमा छन्।
निर्माण सम्पन्न भएका विमानस्थल मध्येपनि २२ वटा विमानस्थलमा नियमित जहाज उडान हुने सकेको छैन। विमानस्थलमा जहाज उडानै नभएपछि नाफामा जाने कुरै भएन। ठूला नेताको दबाब र निर्वाचन एजेन्डाका रूपमा विमानस्थल निर्माण भएपनि नियमित रुपमा जहाज उडान हुन नसक्दा अधिकांश विमानस्थल घाटामा जाने गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा देशभर सञ्चालनमा रहेको ३० भन्दा बढी विमानस्थल मध्ये ७ वटा मात्रै नाफामा गएको छ।निर्माण सम्पन्न भएका र ३ दशक भन्दा अगाडि नै नियमति उडान भएका विमानस्थलमा नियमति उडान हुन सकेको छैन।
तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी विमानस्थलको परीक्षण उडान र नयाँ विमानस्थल निर्माणमा लागि परेका छन्।
मन्त्री अधिकारीले नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल तथा पूर्व सभामुख नेम्वाङको गृह जिल्ला इलामको फाल्गुन्द विमानस्थल, पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको गृह जिल्ला गुल्मीको रेसुगां विमानस्थल र भीम रावलको गृह जिल्ला अछामको साफेवगर विमानस्थलमा परीक्षण उडान गरे।
परीक्षण उडान भएपनि यी विमानस्थलमा नियमित उडान हुन भने सकेको छैन। एउटै विमानस्थलमा परीक्षण उडान गर्न न्युनतम ५ देखि ७ लाख रुपैयाँ सम्म खर्च हुन्छ। तर, मन्त्री अधिकारीले सञ्चालनमा रहेको विमानस्थललाई कसरी आत्मनिर्भर तर्फ लैजाने भन्ने योजना नै तय नगरी नयाँ विमानस्थल सञ्चालन गर्ने तथा निर्माण प्रक्रिया थालनी गरेका छन्।
मन्त्री अधिकारीलाई हवाई विज्ञहरूले समेत पाँच वर्षभित्र देशभर सञ्चालनमा रहेका विमानस्थललाई आर्थिक रुपमा सबल बनाउने गरी योजना बनाएर अगाडि बढाउन सुझाव दिएका थिए। तर, मन्त्री अधिकारी आन्तरिक विमानस्थल थप्ने जोड दिँदै आएका छन्।
नाफामा जाने ७ विमानस्थल
प्राधिकरणका प्रवक्ता विरेन्द्रबहादुर श्रेष्ठका अनुसार सञ्चालनमा रहेको मध्ये सबैभन्दा बढी नाफा आर्जन गर्ने विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलबाट दैनिक ३ सय वटा आन्तरिक तर्फका उडान तथा अवतरण र अन्तर्राष्ट्रिय तर्फ ८० वटा उडान तथा अवतरण हुन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आवमा ५ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढी नाफा गर्न सफल भएको छ। यसैगरी दोस्रो बढी नाफा आर्जन गर्न सफल विमानस्थल पोखरा विमानस्थल हो। पोखरा विमानस्थलले ३ करोड ६२ लाख रुपैयाँ भन्दा बढी नाफा गरेको प्राधिकरणले जनाएको छ।
यसैगरी गौतमबुद्ध विमानस्थलले १ करोड ३२ लाख, लुक्लाको तेन्जिंग हिलारी विमानस्थलले ८९ लाख ७५ हजार, भरतपुर विमानस्थलले ६९ लाख ११ हजार, सिमिकोट विमानस्थलले ३० लाख ९७ हजार र नेपालगञ्ज विमानस्थलले ३ लाख ९६ हजार रुपैयाँ नाफा गरेको छ।
बढी घाटामा जाने १० विमानस्थल
प्राधिकरणले सञ्चालनमा रहेको विमानस्थल मध्ये बढी घाटामा जाने १० वटा विमानस्थलको विवरण समेत सार्वजनिक गरेको छ। जसअन्तर्गत सबैभन्दा बढी घाटा बेहोर्ने विमानस्थलमा जनकपुर विमानस्थल रहेको छ। जनकपुर विमानस्थलको घाटा १ करोड ८० लाख रुपैयाँ भन्दा बढी छ।
यस्तैगरी धनगढी विमानस्थलको घाटा १ करोड ५५ लाख र सिमरा विमानस्थलको घाटा १ करोड ३९ लाख रुपैयाँ भन्दा बढी रहेको प्राधिकरण प्रवक्ता श्रेष्ठले बताए। यसैगरी सुर्खेत विमानस्थल १ करोड ३६ लाख, विराटनगर १ करोड १८ लाख, जुम्ला विमानस्थल ७० लाख र रूकुम सल्ले विमानस्थल ५३ लाख रुपैयाँ भन्दा बढी घाटामा छ।
साथै रुम्जाटार विमानस्थल ४६ लाख, थामखर्क विमानस्थल ४५ लाख र तुम्लिङटार विमानस्थलको घाटा ४३ लाख ७१ हजार रुपैयाँ भन्दा बढी थियो।
प्राधिकरणको आम्दानी र खर्च बढ्दो
नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी र खर्च पनि निरन्तर बढ्दो छ। प्राधिकरणले गत आवमा कुल १ अर्ब ९७ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ। यो आम्दानी रकम अघिल्लो आव २०७३/०७४ मा १ अर्ब ७८ करोड मात्रै थियो।
यस्तैगरी, प्राधिकरणले आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब ४८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको थियो। प्राधिकरणले चार आर्थिक वर्षमा मात्रै ६ अर्ब ८९ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरिसकेको छ।
आम्दानीसँगै प्राधिकरणको खर्च पनि बढ्दो छ। प्राधिकरणले गत आवमा मात्रै ३ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ।
यसैगरी प्राधिकरणले अघिल्लो आव २०७३/०७४ मा २९ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको थियो। प्राधिकरणले ४ आर्थिक वर्षमा ३ अर्ब ६३ करोड ३२ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको छ।
आम्दानीबाट खर्च घटाउँदा प्राधिकरण ३ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी नाफामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।