काठमाडौं– राष्ट्रिय सभामा भएका चारमध्ये एक समिति दिगो विकास तथा सुशासन समितिमा नेपाली काँग्रेसकी तारादेवी भट्टको एकल उम्मेदवारी दर्ता भएको छ। तीन समितिमा यसअघि नै नेकपामा सांसद निर्विरोध चयन भै सकेका छन्।
अन्तिम समयमा आएर उक्त समितिको नेतृत्व नेपाली काँग्रेसलाई दिने सहमति भएपछि गत भदौ १३ गते तीन समितिका मात्र सभापतिको चयन गरिएको थियो। उक्त समितिको सभापतिका लागि आज आवेदन माग दर्ता भएको हो। अन्य प्रतिस्पर्धी नभएकाले भोली नै भट्टले सभापतिको सपथ लिने छिन्।
विकास आयोजना र लक्ष्यका बारेमा छलफल गर्ने यो समितिमा १४ जना सदस्य छन्। राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल, कालीबहादुर मल्ल र दिनानाथ शर्मा उक्त समितिमा सदस्य छन्।
समितिको सभापतिमा नेकपाबाट भैरवसुन्दर श्रेष्ठ सरकारको रोजाइमा थिए। तर नेपाली कांग्रेसले पाउने भएपछि उनले उम्मेदवारी दर्ता गराएनन्। उक्त समितिमा भट्ट राष्ट्रिय सरोकार तथा समन्वयन समितिको सदस्यबाट उक्त समितिमा ल्याउदै सभापतिको उम्मेदवार बनाइएको हो।
गत मंगलबार भएको मनोनयनमा नेकपा सांसदले मात्र उम्मेदवारी दर्ता गराएपछि बुधबार उनीहरु निर्वाचित भएका थिए। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चार विषयगत समिति छन्।
प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको लेखा समितिको मात्र नेतृत्व पाउने निश्चित भएकाले राष्ट्रिय सभाको चारवटै समितिमा नेकपाले पाउने सहमति भएको थियो।
यस्ता छन् समितिका तीन सभापति
१.विधायन व्यवस्थापन समिति
राष्ट्रियसभा अन्तर्गत महत्वपूर्ण विधायन व्यवस्थापन समितिले कानुन निर्माण र कानुनी कार्यका लागि काम गर्नेछ। समितिको सभापतिमा नेकपाका पर्शुराम मेघी गुरुङ चयन भएका छन्। समितिमा नेपाली कांग्रेसका जितेन्द्र नारायण देव, बद्री पाण्डे र राजपाका वृशेषचन्द्र लालसहित १४ जना सदस्य छन्।
२.प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
कानुन निर्माणपछि नियमावली र निर्देशिका निर्माण गरी सरकारी निकायले गर्ने कामका बारेमा अध्ययन गर्ने क्षेत्राधिकार भएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा नेकपाका सांसद रामनारायण बिडारी चयन भएका छन्। उक्त समितिको सभापति बनाउन बिडारीको पक्षमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नै थिए। राधेश्याम अधिकारी समेत सदस्य रहेको उक्त समितिमा १३ सदस्य छन्।
३.राष्ट्रिय सरोकार तथा समन्वयन समिति
राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्ने र आवश्यक निर्देशन दिने क्षेत्राधिकार भएको राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा १४ जना सदस्य रहेका छन्। समितिको सभापति महिला बनाउनुपर्ने भएकाले पहिलो रोजाइमा दिलकुमारी रावल थापा (पार्वती) रहेकी थिइन्। कोमल वली समेत रहेको उक्त समितिमा रावल निर्विरोध चयन भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।