काठमाडौं- कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११०औं जन्म जयन्तीको अवसरमा आइतबारदेखि पार्टी मुख्यालय सानेपामा बीपी महोत्सव आयोजना गरिएको छ। पहिलो पटक महोत्सव आयोजना गरेको कांग्रेसले विभिन्न विधाका विज्ञहरुलाई बोलाएर बीपी जीवन, दर्शन, साहित्यक र राजनीतिक लगायतका विषयमा विचार विमर्श गरिरहेको छ।
कांग्रेसलाई बीपीको विचार आत्मसात गर्न नसकेको आरोप लागिरहँदा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा पार्टी मुख्यालयमै बीपी महोत्सव आयोजना गरिएको हो।
पार्टी सभापति शेरबहादुर देउवाले ११० वटा बेलुन उडाएर उद्घाटन गरेको उक्त महोत्सवमा पार्टीका शुभचिन्तक, शुभेच्छुक मात्रै नभई बीपीका अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको छ।
महोत्सवमा आइतबार ‘बीपीका दृष्टिमा बीपी’ नामक कार्यक्रम सञ्चालन गरियो। महामन्त्री विश्वप्रकाश शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा भुवन ढुंगाना, कृष्ण खनाल र सीके लाल वक्ताका रुपमा रहेका थिए।
बीपी एक प्रतिभा अनेक
साहित्यकार भुवन ढुंगानाले भोटो र कात्रोको विषय उठाउँदै लोकतन्त्रसँग यसको सम्बन्धका बारेमा प्रष्ट पारिन्। उनले भनिन्, ‘भोटो र कात्रोको विषय बीपीले आफ्नो आत्मकथामा उल्लेख गर्नुभएको छ। आफ्ना बुबा र महात्मा गान्धी बीपीका रोल मोडेल हुनुहुन्थ्यो। १२/१३ वर्षकै उमेरमा बीपीका बुबाले पठाएका लुगाहरुमध्ये भोटोको विषय बीपीको आत्मकथामा समेटिएको छ।’
कात्रोबारे प्रष्ट पार्दै उनले भनिन्, ‘मोहन शमशेरको चाहना बीपीले जेल मुक्त हुनका लागि माफी माग्नु पर्ने थियो। तर उहाँकी आमा दिव्या कोइरालाले माफी होइन, मरेपछि म कात्रो चाहिँ पठाउँछु भन्ने ठूलो साहस सहितको सन्देश दिनुभएको थियो।’
साहित्यकार ढुंगानाले बीपी एक, प्रतिभा अनेक भएका व्यक्ति भएको उल्लेख गरिन्। बीपीको भनाइ उदृत गर्दै उनले भनिन्, ‘बीपीको साहित्यमा निकै लगाव थियो। उहाँ आफैंले राजनीतिबाट छुट्टी पाएँ भने साहित्यमा लाग्ने प्रण गर्नुभएको थियो।’
उनले बीपीका अधिकांश साहित्यक सिर्जना जेल भित्र भएको बताइन्। ढुंगानाले आफूले बीपी जेलमा रहँदा दुई पटक भेट्ने अवसर प्राप्त गरेको स्मरण गर्दै भनिन्, ‘बीपीलाई मैले सुन्दरीजलको जेलमा दुई पटक भेटेकी थिएँ। एउटा सानो कोठामा चारैतिर आर्मीहरुले घेरेर राखिएको थियो।’
बीपीले जेलमा लेखेका उपन्यासहरु सबै उहाँको स्मरण शक्तिमा आधारित रहेको टिप्पणी समेत ढुंगानाले गरिन्। उनले थपिन्, ‘बीपीको स्मरण शक्ति बेजोडको थियो। १२/१३ वर्षकै उमेरमा उहाँ भारतको टेडी भन्ने ठाउँमा निर्वासित हुनुपर्यो। उहाँले त्यहाँ नरेन्द्र दाइ उपन्यास लेख्नुभयो। उहाँका उपन्यासका ती सबै सजीव पात्रहरु हुन्। ती सबै पात्रहरु त्यहाँ थिए। मेरो आमाले उनीहरुलाई चिनेर भन्नुहुन्थ्यो- त्यो मुनरिया पनि थिई। गौरी पनि थिई। उनीहरु कुनै काल्पनिक पात्र होइनन।’ उनले बीपी साहित्य र राजनीति दुवै पक्षमा उत्तिकै अब्बल रहेको बताइन्।
बीपीको जस्तो चेतना भएको व्यक्ति नेपाली राजनीतिमै छैन
प्रा कृष्ण खनालले बीपी एक असल सोच र चरित्र भएको व्यक्तित्व भएको टिप्पणी गरे। ठूलो होइन, असल बन्नु भन्ने प्रेरणा बीपीमा सानैदेखि रहेको स्मरण गर्दै उनले भने, ‘बीपीको एउटा सोच बनिरहेको थियो, असल बन्नुपर्छ भन्ने कुरा उहाँले बाल्यकालमै बुझ्नु भयो।’
बीपीले २०१७ साल पुस १ गतेको घटनालाई महाभारतको रुपमा लिएको बताउँदै खनालले बीपी मौलिकता भएको लेखक रहेको बताए।
बीपीले ‘मोदी आइन’को कल्पना गरेर त्यसमा आफूले भोगिराखेको कथामा ठूलो होइन, बिम्वको प्रयोग गरेर कसरी मानिस असल बन्न सक्छ भन्ने कुरा प्रष्ट पारेको बताए। उनले बीपी आफैंले प्रथम विश्वयुद्धमा जन्मेकाले उहाँ युद्धका साक्षी व्यक्तिको रुपमा रहेको टिप्पणी गरे।
बीपीले आफू प्रधानमन्त्री हुँदा पत्रकारहरुलाई निवासमै बोलाएर आफ्नो कमजोरी केलाउन आग्रह गरेको विषयलाई इंगित गर्दै खनालले अहिलेको नेपाली राजनीति प्रश्नबाट डराएको टिप्पणी गरे। उनले भने, ‘बीपीले भनेका कुरा के नेपाली कांग्रेसमा लागू हुन्छ? कांग्रेसका नेताहरु त्यसलाई सुन्न चाहन्छन्? मलाई लाग्दैन। कांग्रेस सहित राजनीति गर्नेहरुमा मैले जति कसैले जानेको छैन, तिमीले त मेरो फलो गर्ने हो, मैले भनेको नमान्ने? भन्ने जस्तो अहंकार छ।’
के हो बीपीको चेत जसले बीपीलाई बीपी बनायो? यस विषयको धरातल कसैले बुझ्न नसकेके टिप्पणी गर्दै खनालले थपे, ‘आज मैले त्यो चेतना भएको मान्छे नेपालको राजनीतिमा देखेको छैन। म त प्रधानमन्त्री भएँ, पार्टीको सभापति भएँ, म ठूलो नेता भएँ, यत्रा मान्छे मेरो पछि आउँछन्, ताली पिट्छन् भन्ने दम्भ नेपालको राजनीति चलिरहेको छ।’
खनालले बीपी आफैंमा चेतना र चरित्र भएको बताउँदै उनले अहिलेका चरित्र गुमाएका पात्रहरुसँग बीपीको कुरा गर्नुको कुनै औचित्य नभएको उल्लेख गरे।
राजनीति गर्नेहरुसँग प्रश्नको सामना गर्ने भय
राजनीतिक विश्लेषक सीके लालले बीपी बहु प्रतिभा भएको व्यक्तित्व रहेको बताए। काम गर, फलको आस नगर भन्ने बीपी कोइराला आफैं जटिल पात्रको रुपमा रहेको टिप्पणी उनको थियो। लालले भने, ‘बीपी आफैंमा एक जटिल पात्र हुन्। उनले आफ्नो आत्मकथामा भनेका छन्, अध्यात्मवादमा म रहस्यवाद हुँ। साहित्यमा म छायावादी रोमान्टिक हुँ। राजनीतिमा गान्धीको म आनन्दवादी हुँ। उहाँको रहस्यवाद, रोमाञ्चकवाद र आनन्दवादले जीवनलाई तीन रुपमा बुझ्न सकिन्छ।’
बीपी आर्दश र उद्देश्यका लागि लड्ने व्यक्ति भएको उल्लेख गर्दै उनले आफू केही गर्नका लागि जन्मिएको भन्ने ज्ञान भएको व्यक्तिको रुपमा अर्थ्याए। साथै उनका रचनामा फ्रायडवाद झल्किने भएकाले हरेक प्रेमी क्रान्तिकारी हो, हरेक क्रान्तिकारी प्रेमी हुन् भन्ने कुरा देखिने गरेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।