काठमाडौं– फिल्म ‘एक भगवत् गीता’लाई चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि विवाद झन् चुलिएको छ।
धार्मिक संगठनहरूले फिल्मको नाम फेर्न दबाब दिएपछि विकास बोर्डले सेन्सर अनुमति दिएको थिएन। फिल्मकी निर्देशक झरना थापाले मध्यरातमा एउटा फोसबुकमा एक पोस्ट गरेकी छन्। पोस्टमा उनले आफू फिल्ममा अनावश्यक हस्तक्षेपले निम्त्याएको अवस्थाले आफू निदाउन नसकिएको बताएकी छन्।
उनले स्वयम् श्रीकृष्णको भक्त भएकाले चलचित्रले धार्मिक संहिष्णुतामा खलल नगरेको प्रष्ट्याएकी छन्।
‘मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैंमा मेरो चलचित्र कर्मको प्रेरणा हो। म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु। बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद्भागवतगीताको अवहेलना नभएको स–प्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन र निर्क्योल आइतबार गरिने भनेर भनिएको छ,’उनले लेखेकी छन्, ‘आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिले सम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरि चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ। थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखासम्म आउन पाउँछ कि पाउँदैन...।’
फिल्म आगामी २९ भदौबाट रिलिज हुने भनिए पनि बोर्डले सेन्सर अनुमति नदिँदा निर्माण टिम अलमलमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।