काठमाडौं– गत भदौ १४ र १५ गते सम्पन्न भएको बिम्स्टेक सम्मेलनका क्रममा मुख्य डिस्प्लेमा देखाइएको नेपालको राष्ट्रिय झन्डामा त्रुटी रहेको पाइएकाे छ।
काठमाडौंको सोल्टी होटलमा अायाेजित सम्मेलनको उद्घाटन सत्रमा नेपालको राष्ट्रिय गीत बजिरहँदा पृष्ठभूमिमा नेपालको राष्ट्रिय झन्डा फरफराइरहेको देखाइएको थियो। तर, साे झन्डाकाे अाकार संविधानअनुरुप नपाइएकाे हाे। उक्त झन्डामा १६ काेण भएकाे सूर्य अंकित गरिएकाे छ।
नेपालकाे संविधानमा भने राष्ट्रिय झन्डाको चन्द्रमामा ८ कोण र सूर्यमा १२ कोण हुने उल्लेख छ।

तर संविधानमै स्पष्ट व्याख्या गरिएको यस प्रावधानलाई बिम्स्टेक सम्मेलनमा फरफराइएको झन्डामा ख्याल गरिएको देखिँदैन।



तस्बिर : नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेकाे सम्मेलनकाे भिडियाेबाट साभार
यसका अलावा प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा पनि झन्डाको अाकार संविधानअनुरुपकाे छैन।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा राष्ट्रिय झन्डाको अपमान गर्न नहुने उल्लेख छ। संहिताकाे दफा १५१ मा 'नेपालको झन्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा' झन्डा प्रयोग गर्न नहुने उल्लेख छ।
त्यस विपरित कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

साथै, दफा ७३ मा कानुन बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु हानिनोक्सानी, तोडफोड वा आगजनी गर्न वा गराउन वा अरु कसैलाई प्रयोग गरी वा आफैंले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्न नपाइने उल्लेख छ।

राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ मा पनि झन्डाको अपमान गर्न नहुने उल्लेख छ। कार्यविधिको दफा ११ (क) मा राष्ट्रिय झन्डाको अपमान हुने किसिमले कुनै पनि कार्य गर्न वा गराउन नहुने उल्लेख गरिएको छ।

प्रधानमन्त्रीले नयाँ वर्षका बेला राराबाट देशबासीको नाममा सम्बोधन गर्दा पनि झन्डा लत्रिएपछि व्यापक विरोध भएको थियो। त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा जनकपुरमा राखिएको झन्डाको सम्बन्धमा पनि आलोचना भएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याले यस विषयमा कुनै जानकारी नभएकाे र गल्ती भएकाे भए पेजमा सच्याउने बताए।
याे पनि पढ्नुस्: बिम्स्टेक ब्यानरमा ‘बिग–मिस्टेक’ !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।