पोखरा- दीपक सिन्जालीद्वारा लिखित उपन्यास ‘मीरा’को साहित्यकार भुवनहरि सिग्देलले पोखरामा विमोचन गरेका छन्। शिखा बुक्सले छापेको उपन्यास विमोचनको चाँजो पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको हो।
उपन्यासमाथि टिप्पणी गर्दै लेखक गनेस पौडेलले परिपक्क लेखकको भन्दा मीरा कम नभएको बताए। ‘सरल भाषामा समाजको एउटा प्रेमको विम्बलाई दीपकले उतारेका छन्’, उनले भने।
लेखक सिन्जालीले संघर्ष गरेर पनि मानिस बाँचिरहेको हुन्छ भन्ने उपन्यासमा देखाउन खोजेको प्रस्ट्याए। ‘हाडनाता सम्बन्ध जस्ता कुरालाई पञ्च भलाद्मी बसेर मिलाउने सामाजिक न्याय व्यवस्था ठिक होइन भन्ने देखाउने प्रयास छ’, उनले भने, ‘प्रेम, सामाजिक न्यायलगायत विषयमाथि उपन्यास केन्द्रित छ।’
साहित्यकार सिग्देलले पहिलो उपन्यासबाटै दीपक सिन्जालीले प्रचुर सम्भावना देखाउन सकेको सुनाए।
पत्रकार दीपक सापकोटाले उपन्यासका फ्याक्ट्रीबाट उत्पादितमध्ये मीराले सम्भावनाको संकेत गरेको टिप्पणी गरे । ‘कृष्णभक्त भएर बाँच्नु नै जीवन बाँच्ने सबैभन्दा राम्रो तरिका हो भन्ने मीरा बाई र सिन्जालीको उपन्यासकी पात्र मीराको बीचमा तालमेल चाहिँ छैन,’ सापकोटाले भने।
समीक्षक उपेन्द्र पौडेलले समाजले पचाउन इन्कार गर्ने जटिल प्रेमकथालाई सिन्जालीले उपन्यासमा बुनेको सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।