काठमाडौं– फिल्म ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले सेन्सर बोर्ड र विकास बोर्ड खारेज गरिदिनुपर्ने बताएका छन्।
फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनहरूको दबाबका कारण विकास बोर्डले सेन्सर अनुमति नदिएपछि फिल्मकर्मीहरूले यसविरुद्ध आवाज उठाइरहेका छन्।
निर्देशक बिडारीले आ-आफ्नै संघ संगठनले सेन्सर गर्ने भएपछि विकास बोर्ड र सेन्सर बोर्डको कुनै काम नभएको उल्लेख गरेका छन्। बिडारीले असन्तुष्टि जनाउँदै फेसबुक पोस्टमा लेखेका छन्, ‘राजनैतिक फिल्म बनाए सर्वदलीय समिति बनाएर सेन्सर गरौँ, पारिवारिक चलचित्र बनाए नेपाल परिवार दललाई सेन्सर गर्न दिऊँ। सिफी फिल्म बनाए नास्टलाई सेन्सर गर्न दिऊँ। विधि-विधान, नीति-नियम नमान्ने थिति बसालेर हामी फेरि ढुङ्गे युगमा फर्कन खोजेको हो?’
आगामी २९ भदौबाट रिलिज हुन लागेको फिल्म ‘एक भगवत् गीता’को नाम परिवर्तन गर्न केही धार्मिक संगठनहरूले निरन्तर दबाब दिइरहेका छन्। फिल्म निर्माताले मानसिक खेपिरहनुपरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।