काठमाडौं– फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनको हस्तक्षेप र चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएको विषयमा कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्।
उनले शुक्रबार फेसबुक पोस्टमार्फत् नामकै कारण चलचित्र रोक्नु जायज नभएको बताए।
उनले फिल्मकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र अभिनेत्री सुहाना थापासँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘उहाँहरू भगवान श्रीकृष्णको धेरै भक्ति गर्नु हुन्छ। उहँहरूले बनाएको फिल्म एक भगवत गीता अहिले सेन्सरको चपेटामा परेको छ। स्वयम् एक भक्तले बनाएको फिल्ममा, धर्मको खिल्ली उडाए भनेर कसरी पत्याउनु? यदि नामकै कारण मात्रै हो भने चलचित्र रोक्नु जायज होला र?’
दीपकले नेपालको चलचित्र उद्योगमा एकताको अभाव भएकाले अरुको बारेमा बोल्न कोही बोल्न नचाहेको गुनासो गरे। उनले बलिउडको उदाहरण दिँदै भने, ‘ बलिउडमा एउटा फ़िल्म ब्लकबष्टर हूदाँ पूरा उद्योग खुसी मनाउँछ। यहाँ कुनै फिल्म ब्लकबष्टर भो भने पूरा उद्योग शोकमा डुब्छ….!’
उनले अन्यायविरुद्ध बोल्दा गाली खाइए पनि बोल्न नछाड्ने बताए। ‘संघ संस्था राजनीति गर्ने मञ्च र अधिकार बिहीन विकास बोर्ड जागिर खाने थलो मात्रै नहोस। केही गरौँ, रिलिज नरोकौँ,’ उनले लेखेका छन्।
दीपकको पोस्टलाई सेयर गर्दै अन्य चलचित्रकर्मीहरूले पनि यसविरुद्ध आवाज उठाएका छन्। निर्देशक प्रदीप भट्टाराईले दीपकको विचारमा सहमति जनाउँदै सेयर गरेका छन्। कलाकार विरेन्द्र हमालले पनि फिल्मकर्मीहरूको गुटबन्दी ठीक नभएको लेखेका छन्।
‘नेपाली फिल्म जगतको एउटा छुटंटै इतिहास बोकेका नेपाली प्रोड्युसर, कलाकारलाई के गरेको यो? यो दिमागको अखडामा बस्ने र धुलो लाउने पहलमान बन्दुहरू। यो गुटबन्दी राम्रो हैन नि,’ उनले लेखेका छन्।
फिल्म समीक्षक यज्ञशले पनि यो हस्तक्षेपविरुद्ध धारणा राखेका छन्।
उनले कानुनभन्दा माथि कुनै संगठन नभएको बताएका छन्। ‘कानुनतः सिनेमा दर्शकलाई देखाउन लायक छ छैन भनेर जाँच गर्ने भनेर सेन्सर बोर्डलाई जिम्मा दिएपछि त्यसमा थप कुनै पक्षको भूमिका हुँदैन। चलचित्र विकास बोर्डले यति सजिलो कुरामा किन राजनीति घुसाउने र घुस्न दिने काम गरिरहेको छ?’ उनले लेखेका छन्।
उनको पोस्टमाथि सहमति जनाउँदै फिल्म निर्देशक उपेन्द्र सुब्बाले पनि सेयर गरेका छन्। अभिनेता कृष्ण मल्ल र निर्देशक मनोज पण्डितले पनि यो हस्तक्षेपविरुद्ध आवाज उठाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।