काठमाडौं– फिल्म ‘एक भगवत् गीता’लाई चलचित्र विकास बोर्डले सेन्सर बोर्डमा सिफारिस गर्न अस्वीकार गरेको छ।
आगामी २९ भदौबाट प्रदर्शनमा आउने फिल्मलाई धार्मिक संगठनहरूको दबाबका कारण बोर्डले सिफारिस गर्न अस्वीकार गरेको हो।
हिन्दु जागरण नेपाल, विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायतका १३ संस्थाले विरोध गर्दै बोर्डमा फिल्मको नाम परिवर्तन नगरी सेन्सरको सिफारिस नदिन भन्दै धर्ना दिइरहेका थिए।
‘एक भगवत् गीता’मा अन्तरजातीय प्रेम र जातीय विभेदको कथा भएको र श्रीमद् भागवत् गीतासँग कथावस्तु नमिल्ने भएकाले नाम परिवर्तन गर्न दबाब दिइरहेका थिए।
‘म बिहान १० बजेदेखि विकास बोर्डमा छु। सबै कागजपत्र, प्रकिया पूरा गरेको छु। तर बोर्डले सिफारिस दिएको छै,’ फिल्मका निर्माता सुनिल कुमार थापाले भने।
बोर्डका प्रवक्ता खेतुलाल बिसीले आफूहरू प्रकियामै रहेको बताए। ‘सामाजिक सद्भाव नखल्बलियोस् भनेर हामी बैठकमै छौँ। अस्वीकार गरेको होइन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।