काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको घटनाका सम्बन्धमा भएको अनुसन्धान र प्रगतिको अध्ययन गर्दै आफंै स्थलगत निरीक्षण गर्ने भएको छ।
भदौ २२ गतेदेखि आयोगले देशव्यापी रूपमा महिला हिंसा विरुद्धको अभियान सञ्चालन गर्न लागेको आयोगकी प्रवक्ता मोहना अन्सारीले जानकारी दिइन्। निर्मला पन्तको हत्या भएको स्थानबाटै उक्त अभियानको थालानी गर्न लागिएको प्रवक्ता अन्सारीले बताइन्।
नेपाल प्रहरीसँगको सहकार्यमा ‘महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको जवाफदेहिता’ विषयक गोष्ठीसँगै राष्ट्रिय अभियान कञ्चनपुरबाट सुरु हुने उनले बताइन्।
आयोगले महिला हिंसालगायत मानव अधिकार उल्लंघनका घटनामा सञ्चार माध्यममा प्रकाशित समाचार, प्रहरीमा परेका उजुरी लगायतको नियमित अनुगमन गर्दै आएको छ।
आर्थिक वर्ष २०७४÷०७५ मा १४ सय भन्दा बढी जबरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएका छन्। ७ सय २७ जबरजस्ती करणी गर्ने उद्योग गरेको, ३ सय ८ बेचबिखन गरेको, ६२ वटा बालविवाहका मुद्दा, ४ बोक्सी आरोपमा भएका हिंसा, १८ वटा गर्भपतनसम्बन्धी उजुरी परेका छन्। ५ वर्षदेखि १६ वर्ष उमेर समूहका बालिका जबरजस्ती करणीबाट बढी पीडित हुने गरेका उजुरीले देखाएको छ।
केही घटनामा कानून विपरित मिलापत्र गराउने कार्यमा सुरक्षाकर्मीको समेत संलग्नता रहेको आयोगको अनुगमनबाट खुल्न आएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
जबरजस्ती करणीका घटनामध्ये अधिकांश हटना घरपरिवार एवं नजिकको नातेदारबाट हुने गरेको छ। सामूहिक जबरजस्ती करणीका घटना अन्य व्यक्तिबाट हुने र घटनापश्चात् पीडितको हत्या गर्ने प्रवृत्ति बढ्दो रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
नेपाल प्रहरीबाट घटनाको शीघ्र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन नसक्दा पीडितको जीवन थप जोखिममा पर्ने एवं दण्डहीनताले प्रश्रय पाउने कार्य भईरहेको आयोगको दाबी छ।
कानूनी सहायता, स्वास्थ्योपचार एवं संरक्षणबाट समेत जबरजस्ती करणी घटनाका पीडितहरू वञ्चित भैरहेका भन्ने आयोगमा प्राप्त उजुरीबाट देखिन आएको आयोगले जनाएको छ।
महिलामाथि हुने यस किसिमको हिंसा लगायत अन्य कुनै पनि अपराधकोे नियन्त्रण एवं न्यूनीकरणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने तर, महिला हिंसाका घटनाहरू वृद्धि हुँदै गएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
घटनाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप प्रभावकारी बनाउन एवं हिंसा पीडित महिलाको संरक्षण र न्यायमा पहँुच अभिवृद्धि गर्न आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।