काठमाडौं- अभिनेता खगेन्द्र लामिछानेले सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शुन्य भएको बताएका छन्।
काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन 'एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको व्यापार' सेसनमा बोल्दै लामिछानेले राज्यले सिनेमा क्षेत्रबाट लिने मात्र गरेको गुनासो गरे।
'धेरै व्यवसायसँग सरकार जोडिन्छ। तर सिनेमा यस्तो बिजनेस हो फिल्म दर्ता गर्दा विकास बोर्डमा १३ हजार ५ सय राज्यलाई तिर्नुपर्छ। त्यसपछि राज्यको भूमिका शुन्य। चलचित्रकर्मीले सरकारलाई कमाइदिरहेको जस्तो भइरहेको छ। फिल्म चल्यो भने राज्यले २५ प्रतिशत लिन्छ,' खगेन्द्रले भने।
फिल्म 'पशुपतिप्रसाद'मा चर्चामा आएका खगेन्द्रले 'टलकजङ भर्सेस टुल्के', 'धनपति' लगायतका राम्रा फिल्महरूमा लिड अभिनय गरेका छन्।
लेखक,निर्माता र निर्देशकसमेत रहेका उनले थपे, 'फिल्म डुब्दा फिल्मकर्मीको जिन्दगीचाहिँ कसरी चल्छ जस्तो लाग्छ। हामी नागरिक भएको अर्थ के? हामी यसका लागि फाइट गरिरहेका छौँ।'
उनले पछिल्लो समय नेपाली फिल्महरूले विश्वका ठूलो फेस्टिभलहरूमा स्थान ओगटेकोमा खुसी व्यक्त गरे। '१५ वर्षअगाडि नेपाली सिनेमा एक्जिस्ट नै गर्दैन थियो। यो सालमात्रै तीन चार वटा नेपाली सिनेमा विश्वको सबैभन्दा ठूलो फेस्टिभलमा सहभागी भइरहेका छन्। यो राम्रो कुरा हो। हाम्रो मौलिक कथालाई विश्वले पनि खोजेर हेर्न चाहन्छ,' उनले भने।
यदि राज्यले साथ दिएमा नेपाली फिल्मको सम्भावना निकै राम्रो रहने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।