काठमाडौं– अभिनेता मुकुन भुषालको प्रमुख भूमिका रहेका २ फिल्म एकैदिन भिडेका छन्। कृषा चौंलागाईं निर्देशित फिल्म ‘ऐंचो पैंचो’ र सबिन अधिकारी निर्देशित फिल्म ‘गणपति’ शुक्रबारबाट प्रदर्शनमा आएका हुन्।
मुकुनले फिल्महरूको पोस्टर फेसबुकमा सेयर गर्दै दुवैबाट धेरै कुरा सिक्न पाएको बताएका छन्।
गणपतिमा मुकुनसँगै मेनुका प्रधान, प्रकाश घिमिरे, सुर्यमाला शर्मा, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु महर्जन, सुशील पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ।
लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानीमा बनेको फिल्मलाई हरि घले लामाले खिचेका छन्। फिल्म अबिगमान फिल्मस्को ब्यानरमा निर्माण भएको छ।
‘ऐंचो पैंचो’मा मुकुनसँगै स्वस्तिमा खड्का, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ।
दुई फिल्ममध्ये बक्स अफिसमा कसले बाजी मार्छ त्यो भने केहीदिनमा थाहा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।