नयाँ दिल्ली– भारतमा निर्माणाधीन विश्वकै सर्वाधिक अग्लो मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
१ सय ८२ मिटर (६ सय फिट) अग्लो उक्त मूर्ति भारतीय पूर्व उपप्रधानमन्त्री सरदार बल्लभ भाइ पटेलको हो। जो ब्रिटिस साम्राज्यबाट भारत स्वतन्त्र हुदाँ गरिएको संघर्षका एक नायक मानिन्छन्। स्वतन्त्रता प्राप्तिमा गुजरात राज्यबाट महत्वपूर्ण योगदान दिएका नेता पटेललाई भारतीयहरूले उच्च सम्मानका साथ आदर गर्ने गर्दछन्।
हाल चीनस्थित १ सय २८ मिटर अग्लो स्प्रिङ टेम्पल बुद्धलाई विश्वकै अग्लो मूर्तिका रुपमा लिने गरिन्छ।२९ दशमलव ९ बिलियन भारतीय रुपैयाँ(४ सय ३० अमेरिकी डलर) मा निर्माण भइरहेको उक्त मूर्तिलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘पेट प्रोजेक्ट’को रुपमा लिइन्छ।

मोदीले उक्त मूर्ति हिन्दुवादी नेता पटेलको सम्मानका लागि निर्माण गर्न लगाएका हुन्।‘एकताको प्रतिक’को रुपमा वर्णन गरिएको यस मूर्तिको अनावरण आगामी अक्टोबर ३१ दिन गरिनेछ। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि गठन भएको सरकारमा पटेल उपप्रधानमन्त्री थिए।
ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएपछि भारतीय राज्यबाट बाहिरिन संघर्षरत राज्यहरूलाई एकताको सुत्रमा बाँध्न मुख्य भूमिका खेलेका राष्ट्रिय नेता पटेललाई भारतका ‘आइरन म्यान’का रुपमा समेत चिनिन्छ।नेता पटेलले अख्तियार गरेको नीतिलाई हालसम्म पनि कतिपय भारतीय नेताहरुले चुनावी एजेण्डाका रुपमा अँगालेर हिँडिरहका छन्।
गुजरातका मुख्यमन्त्री विजय रुपनी(बायाँ) र सहायक मुख्यमन्त्री नितिन पटेल निरीक्षणका क्रममा फाेटाे खिचाउँदै
तर हालसम्म पनि कतिपय हिन्दु नेताले भने भारतीय राजनीतिमा जवाहरलाल नेहरुको एकछत्र दबदबा रहेको तत्कालिन समयमा पटेलको योगदानलाई नजरअन्दाज गरिएको आरोप लगाउँछन्।
सन् २०१३ मा भारतीय प्रधानमन्त्री बन्ने दौडमा रहेका मोदीले आफ्नो चुनावी भाषणका क्रममा भनेका थिए, ‘नेता पटेल भारतको पहिलो प्रधानमन्त्री नबनेकोमा सबै भारतीयहरूले पश्चाताप गर्नुपर्छ।’ नेता पटेलको मूर्ति निर्माण कार्य सन् २०१३ बाट सुरु भएको हो।
पित्तलबाट बनाइएको उक्त मूर्ति तयार भएपछि यो अमेरिकामा रहेको ‘स्टाच्यू अफ लिवर्टी’को करीब दुइ गुणा अग्लो मूर्ति हुनेछ। देशकै पश्चिम क्षेत्र गुजरातमा निर्माणधीन यस मूर्ति तयार भएपछि सो स्थान पर्यटकीय स्थलको रुपमा विकसित हुने विश्वास लिइएको छ।

मूर्ति निर्माण भइरहेको स्थान गुजरातको प्रमुख शहर अलाहवादबाट करिब २ सय ५० किलोमिटरको दुरीमा पर्दछ। मूर्तिको छातीसम्म झन्डै १ सय ५३ मिटर माथि चढेर वरपरको दृश्यावलोकन समेत गर्न सकिने छ। जुन उचाई मूर्तिको तीन चौथाई हुन आउँछ।
सो मूर्ति निर्माणको कार्य तोकिएकै समयमा सम्पन्न गर्न २ हजार ५ भन्दा बढी कामदार खटाइएको छ। मूर्ति बनाउन केही सय चिनियाँ कामदारलाई समेत उपयोग गरिएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।