काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माको नोबेल मेडिकल कलेज र दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजसहित २६ अस्पताललाई स्वास्थ्य बिमा सेवा प्रदायक सूचीबाट हटाइएको छ। स्वास्थ्य बिमा बोर्डले सार्वजनिक सूचना जारी गर्दै २६ अस्पताललाई सेवा प्रदायकको सूचीबाट हटाइएको जनाएको छ।
स्वास्थ्य बिमा बोर्डसँग विभिन्न मितिमा स्वास्थ्य बिमा ऐन, २०७४ को दफा २ मा भएको परिभाषाअनुसारका अस्पतालहरूले सोही ऐनको दफा ९ मा भएको व्यवस्था बमोजिम सम्झौता गरी सम्झौताको अवधि बाँकी छदै आर्थिक वर्ष २०७१/०८० को बजेट बक्तव्यपश्चात सूचना टाँस गरी सेवा स्थगन गरेका स्वास्थ्य संस्थाहरू उक्त सूचीमा परेका हुन्।
त्यससैगरी बजेट वक्तव्यले निर्दिष्ट गर्नुभन्दा अगावै स्वास्थ्य बिमा ऐनअनुसार सम्झौता भएका तर आव २०७९/०८० को बजेट बक्तव्य पछि अस्पतालहरूको सम्झौता अवधि समाप्त भइ पुनः नवीकरण नभएका वा हुन नसकी स्वास्थ्य बिमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरू र लामो समयसम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई सेवा प्रदायक संस्थाहरूको सूचीबाट हटाउने निर्णय गरिएको हो।
स्वास्थ्य बिमा बोर्डको मिति २०८० श्रावण ३२ गतेको बोर्ड बैठकले बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (बिर्तामोड), लाइफ लाइन अस्पताल (झापा), मेची नेत्रालय (झापा), नोबेल मेडिकल कलेज (विराटनगर), विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर (विराटनगर), चितवन मेडिकल कलेज (भरतपुर), नेशनल मेडिकल कलेज (वीरगञ्ज), शुभस्वस्तिक अस्पताल (बर्दिवास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा)लाई सेवा सूचीबाट हटाएको छ।
यस्तै, राप्ती आँखा अस्पताल (दाङ), नेपालगञ्ज मेडिकल कलेज (बाँके), फत्तेवाल आँखा अस्पताल (बाँके), फुलकुमारी मेमोरियल हस्पिटल (सिरहा) र सगरमाथा चौधरी आँखा अस्पताल (सिरहा), लाल रत्न अस्पताल (कैलाली) लगायतका स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।