सिन्धुपाल्चोक- अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा षति गरेको छ। बाढीका कारण मेलम्ची-हेलम्बु सडक यातायात अवरुद्ध भएको छ।
हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयबासीले जनाएका छन्। पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ।
निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षा कोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्। ‘अहिले विद्यालयका फर्निचर लगायतका सामान सार्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ।’
पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए। सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।