काठमाडौं- सन् १००७ मा रिलिज भएको बलिउड फिल्म ‘वेलकम’ ले बक्स अफिसमा ठूलो सफलता प्राप्त गरेको थियो। फिल्ममा उदय सेट्ठी र मजनु भाइको भूमिकालाई दर्शकले निकै रुचाएका थिए।
यी दुईको भूमिका फिल्मको सिक्वेल ‘वेलकम ब्याक’ मा पनि देखियो। फिल्ममा उदयको भूमिका नाना पाटेकर र मजनुको भूमिका अनिल कपुरले निर्वाह गरेका थिए।
यतिबेला वेलकमको तेस्रो भाग ‘वेलकम टु त जंगल’ रिलिजको तयारीमा छ। तर यो फिल्ममा भने नाना र अनिल देखिने छैनन्। उदय र मजनुको भूमिका सञ्जय दत्त र अरसद वारसीले निभाएका छन्।
यतिबेला बलिउडमा नाना र अनिल जस्ता सफल पात्रलाई फिल्मबाट किन अलग गरियो भन्ने विषयमा चर्चा चलेको छ। भारतीय सञ्चार माध्यमहरुले पैसाको कुरा नमिलेर उनीहरुलाई फिल्मबाट हटाइएको जनाएका छन्।
‘वेलकम टु त जंगल’का लागि अनिल कपुरले १८ करोड पारिश्रमिक मागेका थिए। फिल्म निर्माता फिरोज नाडियावालाले अनिलसँग बार्गेनिङ समेत गरे। तर अनिल आफ्नो मागमा अडिग रहे। त्यसै कारण अनिल फिल्मबाट बाहिरिए।
अनिल कपुर बाहिरिएपछि नाना पाटेकरले पनि फिल्ममा काम गर्न इन्कार गरेको समाचारमा जनाइएको छ। अनिल विना फिल्ममा काम गर्नुको औचित्य नहुने भन्दै उनले पनि छाडेको बताइएको छ।
फिल्म ‘वेलकम टु त जंगल’मा अक्षय कुमार पुन: दोहोरिएका छन् भने सुनिल सेट्ठीको इन्ट्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।