काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको असरस्वरुप बिहीबार र शुक्रबार देशका धेरै ठाउँमा हल्का, मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
शुक्रबार रातिसम्म वर्षा रहे पनि शनिबारदेखि भने मौसममा सुधार शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
‘आज (बिहीबार) र भोलि (शुक्रबार) यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन। शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जानेछ,’ मौसमविद् पौडेलले भने।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबार बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।