काठमाडौं– बेल्जियम मिडफिल्डर तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर केभिन डी ब्रुयना ४ महिना मैदान बाहिर हुने भएका छन्। सिटीका प्लेमेकर डी ब्रुयना गम्भीर चोटका कारण चार महिना मैदान बाहिर रहने क्लबले बताएको छ।
हार्मस्टिरिङ समस्याका कारण थप शल्यक्रिया गर्नुपर्ने भएकाले उनी चार महिना मैदान बाहिर रहने सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले बताएका छन्। ३२ वर्षीय ट्रिबेल उपाधि विजेता डी ब्रुयना सिजनको पहिलो बर्नलीसँगको खेलको क्रममा गत शुक्रबार घाइते भएका थिए।
यसअघि उनी च्याम्पियन्स लिगको फाइनलमा पनि घाइते भएका थिए। च्याम्पियन्स लिगको फाइनलमा घाइते भएकै कारण उनले यसअघि सिटीको प्रि–सिजन म्याचहरु पनि गुमाएका थिए भने कम्युनिटी शिल्डी उपाधिका लागि आर्सनलसँग खेल्दा उनी सब्सिच्युट खेलाडीको रुपमा मैदान छिरेका थिए।
गम्भीर समस्या देखिएका कारण सम्पूर्ण मेडिकल जाँचपछि केही दिनमै उनको शल्यक्रिया हुने बताइएको छ।
गत सिजन डी ब्रुयनाले सिटीका लागि १० गोल गर्नुका साथै ३१ असिस्ट गरेका थिए। उनको उच्च प्रदर्शनमा सिटीले च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।