काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध रहेका ब्राजिलियन फरवार्ड नेयमार जुनियर पनि साउदी अरब जाने भएका छन्। साउदीको प्रो–लिग क्लब अल हिलालसँगको सम्झौता अन्तिम चरणमा पुगेको बीबीसीले उल्लेख गरेको छ।
९० मिलियन युरो अर्थात् ७७.६ मिलियन पाउण्ड र त्यसमा थप केही एडअनहरुमा हिलालले पीएसजीसँग सम्झौता गर्न लागेको बीबीसीले उल्लेख गरेको छ। सम्झौता अन्तिम चरणमा पुगेकाले अब औपचारिकता मात्रै दिन बाँकी रहेको दाबी गरिएको छ।
नेयमारको अल हिलालसँगको सम्झौताको खबर पीएसजीका अर्का महत्वपूर्ण खेलाडी केलियन एमबाप्पे र क्लबबीचको सकारात्मक वार्तापछि सार्वजनिक भएको छ। क्लबसँग सकारात्मक वार्ता भएपछि एमबाप्पे अहिले प्रशिक्षणमा फर्किएका छन् भने नेयमार क्लब छाड्ने संघारमा छन्।
एमबाप्पेले प्रशिक्षण सुरु गरेको २४ घण्टा नबित्दै नेयमारले क्लब छाड्ने अवस्थामा पुग्नुको घटनामा पनि केही सम्बन्ध रहेको हुन सक्ने आकलन गरिएको छ।
नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए। नेयमारलाई बेच्ने योजनासहित पीएसजीले अहिले टिममा समेत समावेश गराएको छैन।
नेयमारले अहिले फ्रान्सेली पक्ष पीएसजीबाट २५ मिलियन युरो अर्थात् २१.६ मिलियन पाउण्ड कमाउने गरेको बुझिएको छ।
उनले पीएसजीका लागि १७३ खेल खेलेका छन् भने क्लबलाई १३ वटा उपाधि दिलाएका छन्। जसमा ५ वटा लिग वान छन्। उनकै प्रदर्शनमा पीएसजी सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा पुगे पनि उपविजेतामै सीमित भएको थियो।
बार्सिलोनाका पूर्वखेलाडी नेयमारको गत मार्चमा शल्यक्रिया गरिएको थियो। जसकारण उनले बाँकी पूरै सिजन गुमाएका थिए। उनले जुलाईबाट मात्रै प्रशिक्षण सुरु गरेका थिए।
उनले सन् २०२२ को कतार विश्वकपमा ब्राजिलका तर्फबाट दुई खेल गुमाएका थिए। खुट्टामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए।
आफ्नो दायाँ खुट्टाको लिगामेन्ट च्यातिएपछि उनले सन् २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए। सन् २०२१ मा पनि चोटका कारण उनी केही हप्ता मैदानबाट बाहिरिएका थिए।
नेयमारको अल हिलालसँगको सम्झौताको खबर पीएसजीका अर्का महत्वपूर्ण खेलाडी केलियन एमबाप्पे र क्लबबीचको सकारात्मक वार्तापछि सार्वजनिक भएको छ। क्लबसँग सकारात्मक वार्ता भएपछि एमबाप्पे अहिले प्रशिक्षणमा फर्किएका छन् भने नेयमार क्लब छाड्ने संघारमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।