काठमाडौं – धरहरा पुनर्निर्माणका प्राविधिक प्रस्ताव स्वीकृत भएका बोलपत्र (टेन्डर) दाता कम्पनीको आर्थिक प्रस्ताव खोलिएको छ। आइतबार पुनर्निर्माण प्राधिकरणले सबैभन्दा कम रकम प्रस्ताव गर्ने कम्पनीमा जिआइईटिसी–रमनको आर्थिक प्रस्ताव स्वीकार गरेको छ।
धरहरा पुनर्निर्माणका लागि विभिन्न ६ कम्पनीले आवेदन पेस गरेका थिए। त्यसमध्ये सबैभन्दा कम रकम बोलकबोल गर्ने उक्त कम्पनीको ३ अर्ब ४५ करोड रुपैयाँको प्रस्ताव प्राधिकरणले स्वीकृत गरेको हो। सार्वजनिक खरिद व्यवस्थामा सबैभन्दा कम बोलकबोल गर्ने कम्पनीको प्रस्ताव स्वीकार गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार प्राधिकरणले उक्त कम्पनीको प्रस्ताव स्वीकार गरेको हो।
धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइईटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसीसहित ६ निर्माण कम्पनीले आवेदन दिएका थिए। यीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो।
धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोड रुपैयाँको प्रस्ताव गरेका थिए।
प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ। मानन्धरले आशयपत्रका लागि सात दिने समय दिई त्यसको दुई सातामा सम्झौता हुने जानकारी दिए।
प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।