काठमाडौं– महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले १ करोड रुपैयाँ बाँडेकी छिन्। आर्थिक वर्ष २०७४/७५ सकिन केही दिन बाँकी रहँदा ३३ वटा संघसंस्थालाई समाज कल्याण परिषद्ले ९९ लाख ७५ हजार रुपैयाँ बाँडेको तथ्य खुलेको छ। नेपाल लाइभलाई प्राप्त रकम वितरण गर्ने निर्णय गरिएको कागजातमा मन्त्री थापाकोसमेत हस्ताक्षर छ।
परिषद्ले गत १२ असारमा ती संघसंस्थालाई उक्त रकम बाँड्ने निर्णय गरेको थियो भने रकम आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा बाँडिएको छ।
रकम बाँड्ने निर्णयको कागजमा मन्त्रीसहित परिषद्को बोर्डका पदाधिकारीसमेतको हस्ताक्षर छ।
मन्त्री थापाले आफ्नो गृहजिल्ला म्याग्दीसँग जोडिएको म्याग्दी मगर समाज, काठमाडौं नामक संस्थालाई ४ लाख ५० हजार रुपैयाँ बाँड्ने निर्णय गरेकी छिन्।
परिषद्मा संघसंस्था अनुदान कार्यविधिमार्फत् सामाजिक संघसंस्थालाई रकम दिन सकिने व्यवस्था गरिए पनि मन्त्रीको तजबिजीका आधारमा रकम विनियोजन हुँदै आएको छ।
मन्त्री निकटका व्यक्ति, राजनीतिक आवद्धता आदिका आधारमा रकम बाँडिएको स्रोतको दाबी छ।
कुन संस्थालाई कति रकम बाँडियो?

मन्त्रीको दाबी–नियमानूसार बाँडिएको हो
यता मन्त्री थापाले भने उक्त रकम परिषद्को ऐन/नियम अनुसार नै वितरण गरिएको दाबी गरेकी छिन्। ‘हरेक वर्ष परिषद्को बजेटबाट प्रक्रिया पुर्याएर सामाजिक संघसंस्थालाई रकम विनियोजन दिने अभ्यास छ,’ उनले भनिन्, ‘सोही अनुसार आवेदन दिएका र प्रक्रिया पुर्याएर आएका संघसंस्थालाई रकम दिने निर्णय गरिएको हो।’
रकम विनियोजन गर्ने सम्बन्धमा गठित छनोट समितिको निर्णयानुसार उक्त रकम दिइएको उनको दाबी छ। ‘सरकार र अन्तर्राष्ट्रिय गैरसरकारी समितिबाट सहयोग नपाएका, तर सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थालाई यस्तो रकम दिइएको हो,’ मन्त्री थापाले दाबी गरिन्।
एकातिर आयोग गठन, अर्कातिर तजबिजी
पछिल्लो समय सरकारले परिषद्मा अनियमितता भएको भन्दै त्यसको छानबिन गर्न सरकारले छानबिन आयोग नै गठन गर्ने निर्णय गरेको छ। विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गत १८ साउनमा सरकारले उक्त छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। उक्त समितिले अहिले परिषद्का कागजातमाथि छानबिन गरिरहेको छ।
एकातिर परिषद्मा अनियमितता भएको भन्दै आयोग गठन गर्ने र अर्कातिर तजबिजीमा आसेपासेलाई रकम दिने प्रवृक्ति विरोधाभाषपूर्ण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।