काठमाडौं– एक टेलिभिजन अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्।
सार्वजनिक सञ्चारमाध्यमबाट तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो।
तामाङ र मगर समुदायका अगुवासहितले दिएको उजुरीका आधारमा जाँचबुझका लागि भन्दै पाण्डेलाई बुधबार जिल्ला प्रहरी परिसर टेकु बोलाइएको थियो। टेकुमा नै उनलाई पक्राउ गरिएको थियो।
प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो। तर अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्।
एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा गरेको टिप्पणीका सन्दर्भमा पक्राउ गर्न माग गर्दै तामाङ तथा मगर समूदायका व्यक्तिले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रदर्शन समेत गरेका थिए।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। सोही क्रममा आन्दोलनकारीको ढुंगा लागेर ३ जना प्रहरी घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।