रुपन्देही– चाैथो बिमस्टेक सम्मेलनमा भाग लिन काठमाडा आएका श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। श्रीलंकन नागरिकहरूका लागि समेत आस्थाको केन्द्र मानिने विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि उनी शनिबार लुम्बिनी आएका हुन्।
भ्रमणका अवसरमा राष्ट्रपति सिरीसेनाले लुम्बिनी स्थित मायादेवी मन्दिरमा पुजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपदचाप चिन्ह मार्कर स्टोन, बुद्धको जन्म स्मारक शिला, अशोक स्तम्भ, पुष्करिणी लगायतका ऐतिहासिक वस्तुहरूको अवलोकन समेत गरेका छन्।

राष्ट्रपति सिरीसेनालाई प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं लुम्बिनी बिकास कोषका अध्यक्ष रबिन्द्र अधिकारी, प्रदेश नं ५ का पर्यटन मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मैत्तेया) लगायत कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए।
त्यसलगत्तै राष्ट्रपति सिरीसेनाले लुम्बिनीको विहारक्षेत्र स्थित श्रीलंकन गुम्बामा पुगेका थिए। श्रीलङ्कन सरकारको सहयोगमा निर्माण गरिएको विहारमा पुगेर अवलोकनका साथै ध्यान समेत गरेका थिए। बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलंकाबाट हरेक बर्ष हजारौं बुद्धमार्गीहरू लुम्बिनी भ्रमण गर्न आउने तथ्याङ्कले देखाएको छ।

गतवर्ष श्रीलंकाबाट २७ हजार जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ। राष्ट्रपति सिरिसेनाको सुरक्षाका लागि सरकारले लुम्बिनीमा उच्च सर्तकता अपनाएको थियो। सरकारले उनको सुरक्षाका लागि चार घेरामा सुरक्षाकर्मी तैनाथ गरेको थियो।
राष्ट्रपतिको सुरक्षाका लागि चारै सुरक्षा निकायका गरी १ हजार ६ सय सुरक्षाकर्मी लुम्बिनीमा परिचालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।