कोलम्बिया- कोलम्बियामा भ्रष्टाचार आरोपमा राष्ट्रपति गुस्ताभो पेट्रोका छोरा निकोलस पेट्रोलाई प्रहरीले पक्राउ गरेको छ। अघिल्लो वर्ष सम्पन्न निर्वाचनमा चुनावी प्रचारका लागि अवैध रकम संकलन गरेको भन्दै निकोलस र उनकी पूर्वपत्नीलाई प्रहरीले हिरासतमा राखेको छ।
निकोलसले लागुऔषध तस्करसँग पनि पैसा लिएको आरोप छ।
मुख्य अभियोजकको कार्यालयले विज्ञप्ति जारी गर्दै पेट्रो र उनकी पूर्वपत्नीलाई राजधानी बोगोटाको एक अदालतमा पेस गरिएको जनाएको छ। अभियोजन पक्षले दुवैलाई अनुसन्धानका लागि म्याद थप माग गरेको छ।
छोरा पक्राउ परेपछि राष्ट्रपति पेट्रोले छोराको गिरफ्तारीमा आफूले हस्तक्षेप नगर्ने र अनुसन्धानमा सघाउने बताएका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘एक बुवाको हैसियतले आफ्नो एक छोरा जेल परेकोमा गहिरो दुःख लागेको छ, तर देशको राष्ट्रपतिको हैसियतमा म महान्यायाधिवक्तालाई यो विषयमा हस्तक्षेप नगर्ने आश्वासन व्यक्त गर्छु । कानुनी रुपमा अनुसन्धान अघि बढोस्।'
उनले छोरालाई गल्तीहरूबारे चिन्तन गर्न पनि सुझाव दिएका छन्। उनले लेखेका छन्, 'म छोराका लागि प्रार्थना गर्छु कि ऊ बलियो रहोस्। यो समयले उसले आफ्नो चरित्र निर्माण गर्न र गल्तीहरूलाई चिन्तन गर्न गर्नुपर्छ।'
यद्यपि, निकोलस पेट्रोले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । निकोलस पक्राउ परेपछि प्रतिपक्षी दलले राष्ट्रपति पेट्रोको राजीनामा मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।