काठमाडौं– कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गरेका छन्। खड्काले अस्पताल निरीक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रभावबारे अस्पतालका विभिन्न विभागमा पुगेर जानकारी लिए।
सो अवसरमा उनले सेवाग्राही तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीसँग पनि छलफल गरे। अस्पतालको स्थलगत निरीक्षणमा कार्यबाहक प्रधानमन्त्री खड्कासँगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहित उच्च सैनिक अधिकारी पनि सहभागी थिए।
अस्पताल निरीक्षणका क्रममा खड्काले सीमित स्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषजनक सेवा प्रभाव भइरहेको भन्दै खुशी व्यक्त गरे। उनले अस्पतालबाट एकीकृतरुपमा अझ बढी गुणस्तरीय सेवा दिन पनि आग्रह गरे।
खड्काले अस्पतालमा कार्यरत चिकित्सक, नर्सदेखि सबै कर्मचारीहरुले सेवा भावका साथ काम गरिरहेको कुरालाई सरकारले उच्चसम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मीदेखि कर्मचारीको समग्र वृति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहे जति सहयोग गर्न सक्ने अवस्था नभए पनि प्राथमिकताका आधारमा अस्पताललाई अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरीय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी पनि दिए।
अस्पतालबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नीतिगत सुधारको काम गर्नुपर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको कार्यबाहक प्रधानमन्त्री खड्काको भनाइ छ। उनले त्यसका लागि प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।