काठमाडौं। फ्रान्सले यूईएफए नेसन्स लिगमा बेल्जियमलाई ४–१ ले पराजित गरेको छ।
यो जिनेदिन जिदानले घरेलु मैदानमा प्रशिक्षकका रूपमा पहिलो जित हो। स्टाड डे फ्रान्समा सोमबार भएको खेलमा फ्रान्स ७७औं मिनेटसम्म १–० ले पछि थियो। तर‚ त्यसपछि बेन्चबाट मैदान प्रवेश गरेका खेलाडीले खेलको दिशा नै परिवर्तन गरे। देसिरे डुए, रयान चेर्की र माइकल ओलिसेले १४ मिनेटभित्र चार गोल गरेपछि फ्रान्सले सानदार पुनरागमन गर्यो।
बेल्जियमले ३५औं मिनेटमा अग्रता लिएको थियो। रोमियो लाभियाको उत्कृष्ट लामो पासमा अफसाइड ट्र्याप छल्दै डोडी लुकेबाकियो अघि बढे र फ्रान्सका डेब्यु खेलाडी गोलरक्षक गिलाउम रेस्टेसलाई पार गर्दै बल पोस्टको जाली चुमाए।
फ्रान्सले ७७औं मिनेटमा बराबरी गर्यो। डुएले पेनाल्टी क्षेत्रभित्रबाट गरेको लो प्रहार बेल्जियमको गोलपोस्टको दायाँ कुनामा पुगेपछि खेल १–१ को अवस्थामा आयो। त्यसको चार मिनेटपछि फ्रान्सले अग्रता लियो। चेर्कीको प्रहार बचाउने प्रयासमा बेल्जियमका गोलरक्षक मार्टेन भान्डेभोर्टको खुट्टामा लागेको बल उनको बायाँ हातमा ठोक्किँदै गोलमा परिणत भयो।
ओलिसेले त्यसपछि खेल पूर्ण रूपमा फ्रान्सको पक्षमा पारे। उनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै फ्रान्सलाई ४–१ को जित दिलाए।
जिदानले फ्रान्सको प्रशिक्षकका रूपमा सुरुवातमा टर्की र बेल्जियमविरुद्ध जित निकालेका थिए। त्यसपछि शुक्रबार घरेलु मैदानमा इटालीसँग बराबरी खेलेका थिए। बेल्जियमविरुद्धको जित उनको घरेलु मैदानमा पहिलो सफलता हो।
समूह ए१ मा फ्रान्सले आफ्नो पकड थप बलियो बनाएको छ। फ्रान्स इटालीभन्दा तीन अंकले अगाडि छ। इटालीले टर्कीलाई ३–१ ले हराएको छ। बेल्जियम फ्रान्सभन्दा चार अंक पछाडि तेस्रो स्थानमा छ भने टर्की अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।